काठमाण्डौं । सभामुख डोलप्रसाद अर्यालले मुलुकमा सुशासनको प्रत्याभूति र भ्रष्टाचार नियन्त्रणका लागि सरकारलाई निरन्तर सचेत गराउन नागरिक समाजसँग आग्रह गरेका छन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले सरकारलाई गलत बाटोमा जान नदिन र समयमै जिम्मेवार बनाउन आम नागरिकको सक्रिय खबरदारी अपरिहार्य रहेको बताए।
सम्बोधनका क्रममा सभामुख अर्यालले वर्तमान पुस्ताले नै देशको विसंगति अन्त्य गर्नुपर्ने दायित्व रहेकोमा जोड दिए। उनले मुलुकको समृद्धिका लागि भ्रष्टाचार मुख्य बाधक रहेको उल्लेख गर्दै यसको निर्मूलीकरणका लागि राज्यका संयन्त्रसँगै नागरिक तहबाट पनि हस्तक्षेपकारी भूमिकाको अपेक्षा गरे। ‘हाम्रै पालामा यो देशको भ्रष्टाचार अन्त्य गर्नुपर्छ, हामी हाम्रै पालामा यो देशमा सुशासन कायम गर्नुपर्छ,’ सभामुख अर्यालले भने, ‘हाम्रा सन्तानहरूलाई यो देशमा राजनीति गरेर, नेतृत्वमा पुगेर देशलाई अझ हामीले खनेको बाटोलाई अझ राम्रो बनाउने जिम्मेवारी सुम्पिनुपर्नेछ।’
उनले आगामी पुस्तालाई राजनीति र मुलुकको नेतृत्वप्रति आकर्षित गर्न अहिलेको नेतृत्वले इमानदारिता प्रदर्शन गर्नुपर्ने बताए। सभामुख अर्यालले देशको भविष्य निर्माणका लागि अहिलेको नेतृत्वले सही मार्गप्रशस्त गर्नुपर्ने र त्यसका लागि सुशासन नै पहिलो सर्त भएको उल्लेख गरे। नागरिकले समयमा नै सरकारका कामकारबाहीको निगरानी नगरे लोकतान्त्रिक मूल्य र मान्यता कमजोर हुने उनको तर्क थियो। उनले सरकारलाई सही दिशामा डोऱ्याउन र जनमुखी बनाउन सचेत नागरिकको भूमिका महत्त्वपूर्ण हुने स्मरण गराए।
कार्यक्रममा बोल्दै उनले संसदीय प्रक्रिया र कानुन निर्माणका सन्दर्भमा समेत नागरिकको राय सुझाव आवश्यक रहेको बताए। विशेषगरी संविधान संशोधन र नयाँ कानुन निर्माणका क्रममा जनस्तरबाट आउने व्यावहारिक सुझावहरूले कानुनलाई बढी जनपक्षीय बनाउन मद्दत पुग्ने उनको भनाइ थियो। ‘संविधान संशोधन तथा कानुन निर्माणका विषयमा तपाईंहरूका सुझाव हाम्रा लागि महत्त्वपूर्ण छन्,’ उनले भने, ‘जनभावना अनुसारको कानुन निर्माण र संशोधनले मात्र लोकतन्त्रलाई बलियो बनाउँछ।
’ उनले जनताको आवश्यकता र बदलिँदो परिवेश अनुसार कानुनहरू परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिए। सभामुख अर्यालले राज्यका हरेक अंग पारदर्शी र जवाफदेही हुनुपर्ने भन्दै भ्रष्टाचार विरुद्धको अभियानमा कसैसँग सम्झौता गर्न नहुने धारणा राखे। उनले मुलुकको समृद्धिको यात्रामा सबै राजनीतिक दल, नागरिक समाज र सरोकारवाला निकायहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने खाँचो औंल्याए।
