काठमाण्डौं । नेपाल क्रिकेट संघ ९क्यान० का अध्यक्ष चतुरबहादुर चन्दमाथि आर्थिक अनियमितताको आरोप लागेको छ। ती आरोपको विषयमा स्पष्ट पार्दैं जवाफ दिनका लागि राष्ट्रिय खेलकुद परिषदले चन्दलाई पाँच दिनभित्र प्रमाणित कागजातको विवरण मागेको छ। यसअघि चन्दमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। उजुरीपछि आयोगले वैशाख २९ मा युवा तथा खेलकुद मन्त्रालयलाई पत्राचार गरेको थियो।
अख्तियारको पत्रपछि मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदलाई पत्राचार गर्दै छानविन प्रतिवेदनसहित कागजात उपलब्ध गराउन पत्राचार गरेको थियो।मन्त्रालयले खेलकुद परिषदमा पत्राचार गरेपछि सदस्यसचिव रामचरित्र मेहताले जेठ ७ गते क्यान अध्यक्षलाई प्रमाणित विवरण माग गर्ने निर्णय गरेक थिए।
चन्दमाथि आर्थिक अनियमितता र सवारी साधनको दुरुपयोगको पहिलो आरोप लागेको छ। खेलकुद परिषदको पत्रमा उल्लेख भएअनुसार विभिन्न ठाउँ र व्यक्तिबाट रकम संकलन गरी गाडी खरिद गरेको, तर उक्त निजी गाडी क्यानलाई भाडामा दिएर त्यसको इन्धन, चालक र मर्मत खर्च क्यानबाटै व्यहोरेको आरोप छ। साथै, गाडी हुँदाहुँदै हवाई यात्रा गर्ने र क्यानबाट दैनिक भत्ता समेत लिने गरेको उल्लेख छ ।
यस्तै व्यक्तिगत खर्च संस्थाको नाममा गराएको अर्को आरोप छ। काठमाडौँको अनामनगरस्थित एक रेस्टुरेन्टमा आफ्ना आफन्त र साथीभाइलाई खुवाएको मद्यपान र खानाको बिल क्यानको नाममा भुक्तानी गराएको आरोप छ। विभिन्न आपूर्तिकर्ताहरूसँग आर्थिक लेनदेन गर्ने र फ्लेक्स सामग्रीको बिल महँगोमा तिराई बढी रकम आफैले बुझ्ने गरेको पनि भनिएको छ।
विदेश भ्रमण र विश्वकपमा अनियमितता भएको विषयमा पनि विवरण माग गरिएको छ। अध्यक्षले क्यानको ढुकुटीबाट मोटो रकम लिएर अत्यधिक विदेश भ्रमण गर्ने गरेको र अमेरिकामा भएको विश्वकपका क्रममा आफ्नी श्रीमती र कोषाध्यक्षकी श्रीमतीलाई समेत क्यानको खर्चमा लगेको आरोप छ। अध्यक्ष ‘डाक्टर’ कोटामा गएर संस्था र राष्ट्रको बदनाम गरेको तथा असम्बन्धित व्यक्तिहरूलाई भिसा दिलाएर आर्थिक लाभ लिएको समेत दाबी गरिएको छ।
टिकट र जर्सी बिक्रीमा अपारदर्शिता भएको पनि बताइएको छ। विश्वकपका लागि संकलित रकम खेलाडीलाई वितरण नगरेको, जर्सी र टिकट वितरणमा व्यापक अनियमितता भएको र त्यसबाट प्राप्त आम्दानी क्यानको आर्थिक अभिलेखमा नदेखाई लुकाएको आरोप छ। कर्मचारी भर्ना र नियुक्तिमा नातावाद गरिएको विषयमा पनि राष्ट्रिय खेलकुद परिषदले अनुसन्धान गर्ने भएको छ। योग्यताको आधारमा नभई आफ्नै जिल्लाका व्यक्तिहरूलाई लेखा, प्रशासन र ग्राउण्डका विभिन्न पदमा नियुक्ति गरेको र बोर्डमा छलफल नगरी मनमानी ढंगले टोली व्यवस्थापक र अन्य अफिसियलहरू नियुक्त गरेको आरोप छ।
राजनीतिक गतिविधि र सरकारी भत्ताको दुरुपयोगमा खेलकुद परिषदले विवरण माग गरेको छ। अध्यक्षको स्वकीय सचिवले क्यानको कर्मचारी भएर पनि संघीय निर्वाचनमा पार्टीको प्रचार गरेको र अध्यक्ष आफैले पनि अपाङ्गता भएको झूटो दाबी गरी सरकारी पेन्सन बुझ्ने गरेको तर राजनीतिमा सक्रिय रहेको जस्ता आरोपहरू लगाइएको छ।
साधारण सभामा नियमविपरीत सहभागिताको विषयमा छानविन हुने भएको छ। विधानले तोकेभन्दा बाहिरका व्यक्तिहरूलाई साधारण सभामा सहभागी गराई संस्थालाई थप आर्थिक भार पारेको आरोप छ। यी विषयमा राष्ट्रिय खेलकुद परिषदले ५ दिनभित्र सत्यतथ्य राय(प्रतिक्रिया र सोसँग सम्बन्धित प्रमाणित कागजातहरू बुझाउन क्यानलाई पत्र काटेको छ।
