काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले पहिलो राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिँदै विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगको जेठ ६ गतेको निर्णयअनुसार महाधिवेशनका लागि आवश्यक सांगठनिक र निर्वाचनसम्बन्धी प्रक्रियको समयसीमा तय गरिएको हो। जारी परिपत्रअनुसार ७७ वटै जिल्ला र सातै प्रदेशमा निर्वाचन समिति गठन गर्ने कार्यलाई प्राथमिकता दिइएको छ।
यही जेठ १५ गतेभित्र प्रदेश र जिल्ला समितिहरूले निर्वाचन समिति गठन गरिसक्नु पर्नेछ । जेठ १० गतेभित्र त्यसको आधिकारिक परिपत्र र माइन्यूटको प्रतिलिपि निर्वाचन कार्यालयमा बुझाइसक्नु पर्नेछ। कार्यतालिकाअनुसार स्थानीय तथा जिल्ला अधिवेशनका प्रतिवेदनहरू जेठ २० गतेभित्र संकलन गरिनेछ भने महाधिवेशन प्रतिनिधिको नामावली पेश गर्ने अन्तिम समय जेठ २५ गतेसम्म तोकिएको छ ।
यस्तै जिल्ला सभापतिहरूले जेठ मसान्तभित्र जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन अनिवार्यरूपमा पेश गर्नुपर्नेछ । निर्वाचन आयोगले सबै प्रदेश सभापतिहरूलाई आफ्ना मातहतका जिल्ला सभापतिहरूसँग समन्वय गरी केन्द्रको कार्यतालिकाअनुसार तोकिएको समयभित्रै काम गर्न निर्देशन दिएको छ।
