भक्तपुर । नेकपा ( एमाले ) केन्द्रीय सचिवालयको बैठक शनिबार ( आज ) पनि बस्ने भएको छ। पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार बैठक बिहान ११ः३० बजे गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्दैछ।
यसअघि शुक्रबार बसेको बैठकमा पाँच उपाध्यक्षहरू ( पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण बिष्ट, र रघुजी पन्त ) ले समीक्षात्मक धारणा प्रस्तुत गरेका थिए। बैठकमा छ घण्टाभन्दा बढी पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा छलफल गरिएको थियो। थापाबाहेक चार उपाध्यक्षले पार्टीको पुनर्गठन आवश्यक रहेको भन्दै ओलीलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका थिए।
पार्टीका उपमहासचिव भट्टले पार्टीको अहिलेको अवस्थासम्मको समग्र समीक्षा र निर्वाचनका बारेमा लामो छलफल भइरहेको बताए। उनका अनुसार अझै १२ जनाले बोल्न बाँकी छ। हिजोको बैठकमा नेताहरूको कार्य विभाजनको विषयले प्रवेश नै पाउन सकेको थिएन।
