काठमाडौँ । नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ बीच १४ बुँदे सहमति भएको छ । सहमति भएसँगै महाअभियानले गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैदेखि अन्त्य गर्ने निर्णय गरेको छ ।
काठमाडौँ उपत्यका प्रवेश गरी ललितपुरको पुल्चोकमा धर्नामा रहेका महाअभियानका प्रतिनिधि र सरकारले गठन गरेको वार्ता टोलीबीच भएको गहन छलफलपछि सहमति पत्रमा हस्ताक्षर भएको हो ।
सहमति पत्रमा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लीलाधर सुवेदी र महाअभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु बोहोरा क्षेत्रीले हस्ताक्षर गरेका छन् । १४ बुँदे सहमतिपछि महाअभियानले सञ्चालन गर्दै आएका धर्ना तथा आन्दोलनका कार्यक्रम अन्त्य गर्ने निर्णय गरेको हो ।
