बिराटनगर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सदस्यता नवीकरणमा असहयोग गर्नेहरूलाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने चेतावनी दिएका छन्। शनिबार विराटनगर स्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै थापाले सदस्यता नवीकरणमा असहयोग गर्नेलाई जिम्मेवारीबाट मुक्त गर्ने चेतावनी दिएका हुन्।
थापाले पार्टीको सदस्यता नवीकरणको विषय क्रियाशील सदस्यहरूको विवरण पार्टीको केन्द्रीय कार्यालयमा राख्ने प्रयोजन मात्रै भएकाले यसमा असहयोग गर्नुपर्ने कुनै कारण नभएको स्पष्ट पारे। ‘पार्टीको केन्द्रीय कार्यालयले सदस्यहरूको विवरण राख्न नपाउने भन्ने हुन्छ र रु’ उनले भने,‘यसमा असहमति राख्नुपर्ने कुनै कारण नै छैन।’
थापाले सदस्यता नवीकरणको विषयमा कुनै भ्रम भए त्यसलाई हटाउने विषयमा आवश्यक छलफलका लागि तयार रहेको पनि बताए। उनले आफू सबै विषयमा सबै पार्टीका समितिहरूमा जिम्मेवारी दिने विषयमा, पार्टीले गर्ने कामहरू र जिम्मेवारी दिने विषयमा सबै पक्षसँग सल्लाह गरेर काम गर्न तयार रहेको स्पष्ट पारे। थापाले भने,‘सबै कामहरू सल्लाहले गर्ने, सबै समितिहरू छलफल र सहमतिका आधारमा बनाउने भनिसके पछि कि त तेरो अनुहार नै मन पर्दैन भन्नु पर्यो नभए विमति राख्नुपर्ने अरू कुनै विषय बाँकी छ जस्तो मलाई लाग्दैन।’
सभापति थापाले पार्टीमा सबै विषयमा छलफलका लागि आफू तयार रहेको र सहमतिकै आधारमा काम गर्न पनि तयार रहेका कारण पार्टी फुटको दिशातर्फ जाने सम्भावना नरहेको दाबी गरे। उनले भने, ‘सबै विषयमा छलफल गरेर सबैको सल्लाहमा काम गर्ने भनिसकेपछि पार्टी फुटको दिशामा जाँदैन भन्ने मलाई विश्वास छ।’
सभापति थापाले भदौ २३ र २४ गतेको घटनामा संलग्न सबैलाई छानबिन गरी कारबाही गर्नुपर्ने धारणा राखे। उनले मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भइरहेको भन्दै तत्काल प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग पनि गरे। उनले सरकारको काम कारबाही व्यवस्थापिका र न्यायपालिका माथि नियन्त्रण गर्ने किसिमको भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे।
सभापति थापाले यस्ता प्रयासहरू विगतमा पनि भएको स्मरण गर्दै नेपालका सङ्गठनहरू बलियो रहेका कारण सरकारका प्रयासहरू सफल नहुने बताए। उनले कांग्रेसले जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको दाबी गरे।
