काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन्द्र शाह नेतृत्वको सरकार असफल भएको बताएका छन् । समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले गरीबको गाँस खोस्ने र बास भत्काइदिने सरकार असफल भएको टिप्पणी गरेका छन् । उनले सुकुम्वासी बस्तीको एक तस्बिर सेयर गर्दै लेखेका छन्, ‘रास्वपा बालेन सरकार असफल भैसकेको छ । अब अवसान मात्रै बाँकी छ । त्यो सरकार जसले गरिबको गाँस खोस्छ र बास भत्काइदिन्छ त्यो असफल सरकार हो । यो तस्बिरले हजारौँ शब्दहरू बोलिरहेका छन् । गरिबलाई लात हान्ने प्रवृत्तिको कुनै पनि हालतमा पुष्टि गर्न सकिन्न ।’
यस्तै, उनले चुनौती दिँदै भनेका छन्, ‘करोडौँ अरबौँ भ्रष्टाचार गरी गरी महल बनाएर मस्त निदाउनेहरूलाई मेरो चुनौती छ । गरिबलाई सास फेर्न सक्ने वातावरण बनाएर देखाऊ। यो गरिबलाई दमन गर्न हजारौँ प्रहरी र सेना देखाउने सरकार लोकतान्त्रिक सरकार हुँदै होइन ।’
उनी अगाडि लेख्छन्, ‘चुप चाप घण्टीमा छाप भन्दै भोट माग्ने र दिनेहरू अब चुपचाप सामान बोकी टाप दिन पर्दाको बिजोगलाई म कुनै पनि हालतमा अनुमोदन गर्न सक्दिन । गरिबको दुस्ख नदेख्ने आँखा । गरिबको घाउमा मलहम लगाउन नसक्ने हात र गरिबको पिडा बोल्न नसक्ने ओठको केही काम छैन। सबैलाई यो बेला सरकारको जमेर विरोध गर्न आह्वान गर्दछु ।’ अर्को पोस्टमा उनले देश गरीबको पनि भएको भन्दै ‘सुकुमबासी तथा अव्यवस्थित बसोबासी एकता अभियान’ चलाउने संकेतसमेत दिएका छन्।
