काभ्रेपलाञ्चोक । शनिबार र आइतबारको वर्षाका कारण अवरूद्ध बिपी राजमार्ग सोमबार बिहानसम्म खुल्न सकेको छैन। डिभिजन सडक कार्यालय भक्तपुर लगायतले आइतबार साँझसम्म बाटो खुलाउने प्रयास गर्दागर्दै पुनः परेको वर्षाले थप अवरुद्ध बनाएको इन्जिनियर दीपक याकामीले जानकारी दिए। उनको अनुसार सोमबार बिहानदेखि पुनः सडक आवागमन गराउन डाइभर्सनको कामलाई निरन्तरता दिइने र दिउँसोसम्म सञ्चालनमा ल्याइने छ।
आइतबार आठ स्थानबाट डाइभर्सन बनाइ आवागमन गराउन खोजिए पनि चारसयबेँसी भन्ने स्थानमा डाइभर्सन बनाउने क्रममा वर्षा भएपछि थप काम रोकिएको उनले बताए। अहिले चारसयबेँसी र घुमाउनेमा डाइभर्सनको काम बाँकी रहेको उनको भनाइ छ। शनिबार दिउँसो वर्षा सुरु भएलगत्तै जोखिमलाई मध्यनजर गर्दै जिल्लास्थित सुरक्षा निकायले उक्त राजमार्गमा ३ः३० बजेदेखि आवागमन बन्द गराएको थियो। जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित कटुन्जेदेखि रोशीको मंगलटार सडकखण्ड वर्षाका कारण रोशी खोलामा ठूलो बाढी आएकाले सम्भावित जोखिम नहोस् भनेर बन्द गराएको जनाएको छ।
रोशी खोलामा आएको बाढीले कटुन्जे–मङ्गलटार सडकका विभिन्न स्थानमा करिब चार किलोमिटर डाइभर्सनमा क्षति पुर्याएको थियो। शनिबारको वर्षाले रोशी क्षेत्रको चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुङ्गा, डालाबेँसी, बुलढुङ्गा तथा माम्तीमा गरी आठ स्थानमा क्षति पुर्याएको थियो। गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानका चार किमी सडक बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो। गत सालको बाढीपहिरोले रागमार्गको रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो।
राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई राजमार्गको प्रवेशमार्ग धुलिखेल तथा काभ्रेभन्ज्याङ र मङ्गलटार तथा सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गराइएको थियो। सडक अवरुद्ध भएपछि अलपत्र छ सयभन्दा बढी यात्रुलाई आइतबार झोलुङ्गेपुलबाट तेमाल गाउँपालिका हुँदै नमोबुद्ध नगरको भकुण्डेसम्म उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ। यस्तै स्थानीयको सहयोगमा प्रहरीले भकुण्डेमा यात्रुलाई फलफूल, पानी तथा अन्य पेयपदार्थ वितरण गरेको थियो। गत साल असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो। हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको छ।
