सुर्खेत । कर्णालीलाई विकटता, गरिबी र अभावको परिचयबाट मुक्त गरी सम्भावनायुक्त प्रदेशका रूपमा विकास गर्नुपर्नेमा मुख्यमन्त्री मङ्गलबहादुर शाहीले जोड दिएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा आज लेखकद्वय डा दीपेन्द्र रोकाया र मोहनदास मानन्धरद्वारा लिखित ‘कर्नाली उपेक्षा र उज्यालो’ पुस्तक विमर्श कार्यक्रममा उनले जलस्रोत, खानी, कृषि, पर्यटन र जडीबुटीमा रहेको सम्भावनाको उपयोग गर्न सके कर्णालीबाटै समृद्धिको आधार तयार गर्न सकिने बताए।
कर्णालीलाई अशिक्षा, अभाव र गरिबीको पर्यायका रूपमा चित्रित गर्ने दृष्टिकोण बदल्नुपर्ने उल्लेख गर्दै उनले प्रदेशको विकासका लागि राज्यले पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए। विगतको तुलनामा कर्णाली धेरै अघि बढिसकेको उल्लेख गर्दै उनले प्रदेशलाई सधैँ विकटता र विपन्नताको दृष्टिले मात्र हेर्न नहुने धारणा राखे।
मुख्यमन्त्री शाहीले आफूले सरकारको नेतृत्व सम्हालेपछि छोटो अवधिमै प्रदेशसभामा विभिन्न कानुन निर्माणका लागि विधेयक प्रस्तुत गरिएको र तथ्याङ्क सुधारका काम अघि बढाइएको जानकारी दिए। कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पुस्तकमा कर्णालीको इतिहास, भोगाइ, सङ्घर्ष र व्यवस्था परिवर्तनमा प्रदेशले गरेको योगदान समेटिएको बताए। कर्णालीको विकासको उपयुक्त मोडेलबारे पनि पुस्तकमा चर्चा भएको भए अझ उपयोगी हुने उनको भनाइ थियो।
