काठमाडौं । काठमाडौंको गैरीगाउँस्थित नदी किनारका सुकुमवासी बस्तीमा बनेका संरचना पनि हटाउन सुरु गरिएको छ । शनिबार बिहानबाट सरकारले काठमाडौंका मुख्य सुकुमवासी बस्ती खाली गराउन थालेको हो ।
यसअघि थापाथली आसपासका सुकुमवासी बस्ती खाली गराइसकिएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौं महानगर प्रहरीसमेतको सहयोगमा गैरीगाउँका सुकुमवासी बस्तीका संरचना हटाउन थालिएको हो । महानगर प्रहरी, प्रहरी, सशस्त्र प्रहरीले गन्तव्यसम्म सामान सार्न सवारी साधनको मद्दत दिइरहेको छ। त्यस्तै कतिपयले आफै कोठा खोजेर सरिसकेका छन्।
यसैबीच शनिबार बिहान ११ बजेसम्ममा थापाथलीस्थित बागमती नदी आसपासका सुकुमवासीहरू सरकारको सम्पर्कमा जान थालेका छन् । दिउँसोसम्म २२ परिवारका सदस्यहरू घरवारविहीन भएको भन्दै सम्पर्कमा आएका छन् । उनीहरू आफ्नो परिवारको विवरण सरकारी टोलीलाई उपलब्ध गराएका हुन् ।
