काठमाण्डौं । नेपालको जनकपुरधाम र भारतको अयोध्याधाम अब प्रत्यक्ष रेल सेवामार्फत जोडिने भएको छ। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री बालेन मंसिर ६ गते आइतबार भारत भ्रमणमा जाँदैछन् ।
मंसिर ७ गते सोमबार अयोध्याबाट जनकपुरका लागि पहिलो रेल सेवा सञ्चालन हुनेछ। रामायणकालीन धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित सुरु हुन लागेको यो रेल सेवाले दुई देशबीचको जनस्तरको सम्पर्क विस्तारमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ। तत्कालका लागि रेल सेवा हप्तामा एक पटक मात्र सञ्चालन हुनेछ। जनकपुरबाट प्रत्येक शनिबार अयोध्याका लागि रेल छुट्नेछ भने अयोध्याबाट सोमबार जनकपुरका लागि सेवा सञ्चालन गरिनेछ।
रेलले जनकपुरदेखि गोरखपुर हुँदै करिब ६०४ किलोमिटर दूरी पार गरी अयोध्या धाम पुग्नेछ। रेलमार्गमा जयनगर, मधुवनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती र मनकापुर स्टेशन पर्नेछन्। भारतको रेलवे मन्त्रालयले जनकपुर माता सीताको जन्मभूमि र अयोध्या भगवान रामको जन्मभूमि भएकाले दुई पवित्र तीर्थस्थलबीचको सम्पर्क विस्तारलाई विशेष महत्व दिएको जनाएको छ।
यसअघि भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा रहँदा भारतीय पक्षले १७ कोचको रेल सञ्चालनको परीक्षण गरेको थियो। उक्त परीक्षण जयनगरदेखि कुर्थासम्म गरिएको थियो। नेपाल पक्षले आफ्नै व्यवस्थापनमा सञ्चालनको तयारी पूरा नगरेसम्म भारतीय रेलले नै उक्त सेवा सञ्चालन गर्ने सहमति दुई देशबीच भएको छ। प्रारम्भिक चरणमा रेल सञ्चालन भारतीय पक्षले गर्ने भएकाले टिकट दरसमेत भारतीय पक्षले नै निर्धारण गर्ने जनाइएको छ।
