काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली गरिएको छ । शनिबार बिहान ८ बजेबाट डोजर चलाएर बस्ती खाली गरिएको हो । महानगररीय प्रहरीका अनुसार थापाथलीमा बसोबास गर्नेहरू धेरैजसो आफैँले कोठा खोजेर सरेका छन् भने केही आफन्तकोमा गएका छन् ।
आफू घरबारविहीन भएको बताउने १३ परिवारका सदस्यलाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग लगिएको छ । बाँकी परिवार भेला नभएका ८ जना दशरथ रंगशालामा बसिरहेका छन् । बस्तीका टहरा हटाउनुअघि आफैँ स्थानान्तरण भएर जान चाहनेलाई महानगर प्रहरी बल र नेपाल प्रहरीले गन्तव्यमा पुग्न मानवीय र सवारी साधन तथा व्यवस्थापकीय सहयोग गरेको जनाएको छ ।
सरकारले सुकुमबासीलाई तत्कालका लागि ५ वटा विभिन्न स्थानमा पुनर्स्थापना गर्ने तयारी गरेको छ । थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका सरकारी जग्गा खाली गराउने अभियानसँगै सरकारले कतै पनि जायजेथा नभएका भूमिहीनहरूका लागि नागार्जुन ( इचङ्गु ) , कीर्तिपुर, बोडे, खरीपाटी र चाँदबागमा बसोबासको विकल्प गराउनेछ । तर त्यसभन्दा अगाडि रङ्गशालामा स्क्रिनिङका लागि लगेको हो ।
