काठमाडौं । सरकारले आज बिहानबाट काठमाडौंका सुकुमवासी बस्तीमा बनेका संरचनाहरू हटाउन डोजर चलाएको छ । सरकारको निर्देशनमा काठमाडौँ महानगरपालिकाले आज ( शनिबार ) बिहान थापाथली क्षेत्रस्थित नदी किनारमा रहेका सुकुमवासी बस्तीमा डोजर चलाएको छ।
थापाथलीका नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउन बिहानैदेखि बाक्लो संख्यामा नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिएको छ। सरकारले पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल र गैरिगाउँका सुकुमवासी बस्ती हटाउने भएको हो।
यसपछि दोस्रो चरणमा बाँकी सकुमवासी बस्ती हटाइने काठमाडौँ महानगरपालिकाले जनाएको छ। यसअघि बिहीबार साँझ महानगरपालिकाको टोलीले थापाथली, सिनामंगललगायत क्षेत्रमा शुक्रबार नै बस्ती खाली गर्न माइकिङ गरेको थियो।
अन्यथा शनिबार बस्ती खाली गरिने र भत्काइने संरचना र क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार आफैँ हुनुपर्ने चेतावनी दिइएको थियो।
