काठमाडौँ । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी पनि थापाथलीको सुकुम्बासी बस्तीमा पुगेको छ। शनिबार बिहानैदेखि बस्ती खाली गर्नका लागि महानगर प्रहरी गाडीसहित सुकुम्बासी बस्तीमा पुगेको हो। नेपाल प्रहरी र सशस्त्र प्रहरी रातिदेखि नै त्यस क्षेत्रमा परिचालित छ। बिहान थप संख्यामा प्रहरी तैनाथ गरिएको छ।
सुरक्षाकर्मी र महानगर प्रहरी वस्ती नै प्रवेश भने गरेको छैन। उनीहरू प्रसुतिगृह छिर्ने मोडदेखि करिडोरसम्म सडकमा तैनाथ छन्। भित्र सुकुम्बासीहरू बिहानसम्म आफ्नो सामान समेटिरहेका छन्। केही सुकुम्बासीहरूले शुक्रबार नै बस्ती छाडेका थिए। अन्यत्र सरिहाल्ने अवस्था नभएकाहरू भने बिहानैदेखि सामान जम्मा गरिरहेका छन्। थापाथली स्थित सुकुमबासी बस्तीमा डोजर चलाउने अन्तिम तयारी भइरहेको छ । यहाँ सवा ८ बजेपछि डोजर चलाउने तयारी छ । अहिले धमाधम सुकुमबासी बस्तीका स्थानीयले नै सामान सारिरहेका छन् ।
काठमाडौँ महानगर प्रहरी बलका अनुसार पहिले थापाथली र त्यसपछि आजै गैरीगाउँबाट सुकुमबासी बस्ती हटाइँदै छ । अहिले बाक्लो सङ्ख्या नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी तैनाथ छन् । नगर प्रहरीका अनुसार स्थानीयले नै सामान सारिरहेकोले अहिले डोजर नचलेको हो । यसअघि बिहान ६ बजे देखि नै डोजर चलाउने तयारी गरिएको थियो ।
