काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारमा रहेका सुकुमवासी बस्तीमा संरचना भत्काउने क्रममा खानेपानीको पाइप फुटेको छ । स्काभेटर चल्दा खानेपानीको पाइप फुटेपछि बालाजु, माइतीघर र एकान्तकुरा क्षेत्रमा खोनेपानी आपूर्ति अवरूद्ध हुने भएको छ । सुकुमवासी बस्तीमा फुटेको खानेपानी पाइप मर्मतका लागि खानेपानी आपूर्ति बन्द गर्नुपर्ने भएका कारण बालाजु, माइतीघर र एकान्तकुरा क्षेत्रमा खोनेपानी आपूर्ति अवरूद्ध हुने भएको हो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले फुटेको खानेपानी पाइप मर्मतका लागि तीन ठाउँमा बालाजु, माइतीघर र एकान्तकुरामा ‘भल्भ’ बन्द गर्न लागिएको जानकारी दिए । ‘मर्मतका लागि भल्भहरू बन्द गर्नुपर्छ । हामी बालाजु, माइतीघर र एकान्तकुनामा भल्भहरू बन्द गर्दैछौं,’ उनले भने, ‘डिस्ट्रिव्युसन ( वितरण ) केही समयका लागि डिस्टर्भ ९अवरूद्ध० हुन्छ ।’
मर्मतका लागि कति समय लाग्छ भन्ने बारेमा यकीन भन्न नसकिने खानेपानी लिमिटेडले जनाएको छ । ‘क्षति कस्तो भएको छ, हेर्नुपर्छ । हाम्रो टोली गइसकेको छ,’ प्रवक्ता राईले भने, ‘टोलीले खबर गरेपछि मर्मतका लागि कति समय लाग्छ भन्ने कुरा थाहा हुन्छ ।’ शनिबार बिहान थापाथलीस्थित सुकुमवासी बस्तीका टहरा भत्काउने क्रममा खानेपानीको पाइप फुटेको थियो । पाइप फुटेपछि बस्तीमा पानीको भेल बगेको थियो । पानीले सुकुमवासी बस्तीका नागरिकले निकालेको सामानहरू भिजेका छन् ।
