काठमाण्डौं । सिन्धुलीको सुनकोसी गाउँपालिका(३ का २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा शंकास्पद ढंगले ज्यान गएपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसदहरूले आफ्नै सरकारसँग न्याय मागेका छन्। इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका विकको शव वैशाख ७ गते साँझ शौचालयको झ्यालमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। तर मृतकका परिवार र सांसदहरूले भने प्रहरीको यातनाका कारण उनको मृत्यु भएको दाबी गरेका छन्।
रास्वपा सांसद रिमा विश्वकर्माले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘एकातिर दलित समुदायसँग क्षमायाचना अर्को तिर अन्तरजातीय विवाहसम्बन्धी उजुरीकै आडमा हिरासतभित्रै ( दलित ) नागरिकको शंकास्पद मृत्यु न्याय देऊ सरकार ’
त्यस्तै, अर्का सांसद खगेन्द्र सुनारले घटनाको छानबिन नहुँदासम्म आफू लगायत सांसदहरू ९रिमा विश्वकर्मा, सुस्मा स्वर्णकार, गणेश विक, खिमा विश्वकर्मा र आसिस गजुरेल० ले बिहीबारदेखि सिन्धुलीमा धर्ना सुरु गरेको बताएका छन्। उनले सिडिओ, एसपी र खुर्कोट इलाकाका इन्स्पेक्टरलाई तत्काल निलम्बन गरी उच्च स्तरीय र संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।
मृतककी आमा विन्दामाया विकले एक ज्ञप्तिमार्फत आफ्नो छोराको हत्या भएको आरोप लगाएकी छन्। उनले छोराको मृत्यु प्रहरीको यातनाबाट भएको भनेकी छन्। उनका अनुसार सत्य कुरा तोडमोड गर्न आत्महत्याको हल्ला चलाइएको हो। ललितपुरको सातदोबाटोबाट अन्तरजातीय विवाहको विषयमा पक्राउ परेका विकलाई वैशाख ४ गते खुर्कोट लगिएको थियो। प्रहरीले जबरजस्ती करणीको मुद्दा चलाउन दबाब दिँदै छोरालाई मानसिक र शारीरिक यातना दिएको उनले बताएकी छन्।
यस घटनाप्रति राष्ट्रिय दलित आयोगले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगका प्रवक्ता सुन्दर पुर्कुटीले विज्ञप्ति जारी गर्दै प्रहरी हिरासतमा व्यक्तिको मृत्यु हुनु मानव अधिकारको दृष्टिले गम्भीर विषय भएको बताएका छन्। आयोगले घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग माग गरेको छ।
