मुस्ताङ । बाढीपहिरोले क्षति गरेको ठाउँमा सडक पुनर्निमाण गरिएपछि बेनी—जोमसोम सडकमा गाडी सञ्चालनमा आएका छन्। सडक खुलेसँगै १ सय ७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन्। चीनबाट आयातित सामान बोकेका ती कन्टेनर पोखरा, काठमाडौँलगायत सहरी भेगमा प्रस्थान गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बेनी—जोमसोम अवरुद्ध सडक खुलेसँगै कोरलानाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका कन्टेनर मुस्ताङबाट बाहिरिन थालेका छन्। सडक अवरुद्ध हुँदा दुई सातादेखि मुस्ताङमा फसेका कन्टेनरमध्ये असोज २४ गते ८५ वटा मालवस्तु कन्टेनर मुस्ताङबाट बाहिरिएका छन्।
असोज २४ गते मुस्ताङबाट ८८ वटा मालवस्तु कन्टेनर बेनीतर्फ बाहिरिएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए। म्याग्दी र मुस्ताङको सिमाना थासाङ—४ घाँसास्थित प्रहरी चौकीका अनुसार सडक खुलेको दुई दिनमा ३९१ वटा विभिन्न सवारी साधन मुस्ताङबाट बाहिरिएका छन्। आज मुस्ताङबाट ५० भन्दा बढी सवारी साधन बाहिरिएका छन्। यसैबीच, मुस्ताङमा उत्पादित स्याउ बजार पठाउन थालिएको चिम्ले स्याउ फार्मका सञ्चालक कर्म गुरुङले जानकारी दिए।
