काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको घटनामा सुरक्षा निकायका पदाधिकारीमाथि अनुसन्धान गर्न समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा संयन्त्रको हकमा उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाउने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
समितिको सदस्यमा सशस्त्र प्रहरी बलका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई रहेका छन्। २०८२ भदौ २३ र २४ गते घटेको घटना जाँचबुझ गर्न गठित पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन गरिएको हो।
त्यस्तै मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा आयोग गठन गरिएको हो । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, आयोगमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, पूर्वन्यायाधीश चण्डिराज ढकाल, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेका छन्।
यो आयोगले सार्वजनिक पद धारण गरेका २०६२/ ६३ पछिका सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकल प्रमाणीकरण तथा छानबिन गर्न सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गर्ने निर्णय गरेको हो।२०६२/ ०६३ यताका उच्च पदस्थ कर्मचारी एवं राजनीतिक पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने लगायत नेपाल र भारतबिच भएको फौजदारी विषयमा पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता स्वीकार गर्दै सो को सूचना जानकारीका लागि प्रतिनिधि सभामा पेस गर्ने निर्णय समेत गरेको छ ।
