काठमाडौं । नेपाली कांग्रेसको देउवा–शेखर समूहले आज ( मंगलबार ) देखि सुरू हुने बैठकका एजेन्डाहरू तय गरेको छ । १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको हैसियतमा बोलाइएको बैठकका लागि इतर समूहले तीन वटा एजेन्डा तय गरेको हो । धुम्बाराहीको होटल स्मार्टमा बिहान ११ बजेका लागि बोलाइएको दुई दिने बैठकमा मुख्य तीन एजेन्डाहरूमा छलफल हुने तयारी गरिएको छ ।
बैठकका लागि २१ फागुनमा सम्पन्न निर्वाचन र पार्टीले प्राप्त गरेको परिणाम, १५ औं महाधिवेशन कार्यतालिका तथा महाधिवेशनको तयारी र सम्भावनाबारे छलफल हुने छ । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनुअघि तत्कालीन संस्थापन समूहले आगामी बैशाखको अन्तिमतिर १५ औं महाधिवेशनको कार्यतालिका पारित गरेको थियो ।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १८ पुसमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेको २८–३१ वैशाखमा १५ औं महाधिवेशनको कार्यतालिका पारित भएको थियो ।१४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठकपछि १९ चैतमा जिल्ला सभापतिहरूको भेला पनि बोलाउने निवर्तमान कार्यवाहक सभापति खड्काले तयारी गरेका छन् ।
