मकवानपुर । गत भदौ १० गते भोटेकोशी नदी प्रणालीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिको ‘एकीकृत प्रारम्भिक प्रतिवेदन’ बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगरसमक्ष पेस गरिएको छ। प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयका प्रदेश सचिव महेश भट्टराईले १५ वटा विषयगत क्षेत्रका विवरणलाई एकीकृत गरी तयार पारिएको प्रतिवेदन बिहीबार मुख्यमन्त्री थापा मगरलाई हस्तान्तरण गरेका हुन्।
प्रतिवेदनमा बाढीले रसुवा, नुवाकोट र धादिङमा विनाश निम्त्याएको र चितवनका तटीय क्षेत्रमा समेत प्रभाव पारेको उल्लेख गरिएको छ। प्रतिवेदनअनुसार बाढीपहिरोका कारण ठूलो संख्यामा मानवीय क्षति भएको छ। मन्त्रालयको तथ्यांकअनुसार उक्त बाढीमा परेर १ हजार ४५५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५ हजार २८५ जना अझै बेपत्ता रहेका छन्।
बाढीमा परेका ३४४ जनाले विभिन्न अस्पतालबाट उपचार प्राप्त गरेका छन् भने १९ वटा अस्पतालबाट २९७ जना डिस्चार्ज भइसकेको सचिव भट्टराईले बताए। उनका अनुसार १३ हजार ७९५ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार कार्यका लागि २० हजार ४७७ जना सुरक्षाकर्मी तथा स्वयंसेवक परिचालन गरिएको थियो। बाढीले तटीय बस्तीहरू बगाउँदा हजारौँ परिवार घरबारविहीन भएका छन्। जसमध्ये २ हजार ३०० वटा निजी आवास पूर्ण रूपमा क्षतिग्रस्त वा बगेका छन् भने २६९ घरमा आंशिक क्षति पुगेको छ।
उक्त बाढीका कारण २ हजार ३०० परिवार प्रत्यक्ष रूपमा विस्थापित भएको प्रतिवेदनमा उल्लेख छ। सचिव भट्टराईका अनुसार हाल विभिन्न अस्थायी शिविरमा १ हजार ८५ जना आश्रय लिएर बसिरहेका छन् भने उनीहरूका लागि सुरक्षित बसोबास र परिवारगत आवश्यकताको पहिचान प्रमुख चुनौती बनेको छ।
विपद्ले महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई गम्भीर असर पारेको सचिव भट्टराईले बताए। बाढीपहिरोमा परेर १०२ जना बालबालिकाले बाबुआमा दुवै गुमाएका छन् भने अस्थायी ‘होल्डिङ सेन्टर’हरूमा २४६ बालबालिका र १६९ ज्येष्ठ नागरिक आश्रित रहेका छन्। ३८ वटा होल्डिङ सेन्टरमा तत्काल मनोसामाजिक परामर्श सेवा आवश्यक रहेको प्रतिवेदनमा औँल्याइएको छ।
सडक, पुल तथा सरकारी संरचनामा क्षति
बाढीका कारण सडक तथा पुलमा क्षति पुग्दा यातायात सञ्चालनमा बाधा पुग्नुका साथै उद्धार र राहत ढुवानीमा अवरोध सिर्जना भएको उनले बताए। सो बाढीका कारण ३४ वटा मोटरेबल ९पक्की० पुल पूर्ण रूपमा बगेका वा भत्किएका छन् भने एउटामा आंशिक क्षति पुगेको छ।
यस्तै, ५१ वटा झोलुङ्गे पुल र ३।५ किलोमिटर कालोपत्रे सडक बाढीले बगाएको छ। शिक्षा र स्वास्थ्यबाहेक अन्य १४ वटा सरकारी कार्यालय भवन क्षतिग्रस्त भएका छन्। बाढीले १२ वटा विद्यालय पूर्ण रूपमा र १८ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। ३५ वटा विद्यालय भवन र ३१७ वटा कक्षाकोठा पूर्ण नष्ट हुँदा ९ हजार २४८ विद्यार्थीको पठनपाठन ठप्प भएको छ भने ६ वटा सरकारी स्वास्थ्य केन्द्र, ७ वटा निजी स्वास्थ्य संस्थारऔषधि पसल र २ वटा स्वास्थ्य शाखारस्टोर पूर्ण क्षतिग्रस्त भएका छन्। ४ वटा स्वास्थ्य संस्थामा आंशिक क्षति पुगेको उनले बताए ।
बाढी प्रभावित क्षेत्रमा आवागमन सहज बनाउन नुवाकोटमा ५ वटा तुइन र २ वटा जिपलाइन तथा रसुवामा तुइन सञ्चालन गरी तत्कालका लागि वैकल्पिक पहुँच बनाइएको सचिव भट्टराईले बताए ।
बाढीका कारण ५५ वटा खानेपानी आयोजना तथा इन्टेकमा क्षति पुग्दा ९६५ घरधुरी खानेपानीबाट वञ्चित भएका छन् भने खानेपानी क्षेत्रमा ३० करोड ४० लाख बराबरको क्षति अनुमान गरिएको छ। ४४ वटा सिँचाइ कुलो क्षतिग्रस्त हुँदा ५९० हेक्टर खेतीयोग्य जमिन प्रभावित भएको छ भने २२ करोड २९ लाखको क्षति भएको छ।
बाढीले १९८ वटा मोबाइल टावरमा क्षति पुगेकोमा हालसम्म १९३ टावर पुनः सञ्चालनमा ल्याइएको र सञ्चार क्षेत्रमा ४० देखि ४२ करोड क्षतिको अनुमान छ।
बाढीले ९७३ हेक्टर कृषि भूमि प्रभावित भएको छ भने ४७१ हेक्टरमा लगाइएको बाली पूर्ण रूपमा नष्ट भएको छ। ७०२ वटा पशु ९गाई, भैँसी आदि०, २ हजार १२३ साना बाख्रा, भेडा र १ लाख ३४ हजार कुखुरा तथा पन्छी मरेका छन्। १६२ वटा गोठ, खोर तथा व्यावसायिक फार्ममा क्षति भएको छ।
बाढीले ३०० वटा घरेलु तथा साना उद्योग पूर्ण क्षतिग्रस्त हुँदा २७१ करोड ५१ लाख र ६७ वटा व्यापारिक पसलरप्रतिष्ठान नष्ट हुँदा २५ करोड ६० लाख रुपैयाँको क्षति भएको छ। ३० वटा गोदाम बगेका छन् भने १ हजार ७०० श्रमिकको रोजगारी गुमेको छ।
१९९ वटा होटल तथा रेस्टुरेन्ट, ६ वटा गुम्बारमन्दिरमा क्षति पुगेको छ। ४० वटा बस, २७ वटा ट्रक र १०३ वटा कन्टेनर बाढीले बगाएर बेपत्ता पारेको छ भने १७ बैंक शाखा र ९ वटा एटीएम क्षतिग्रस्त भएका छन्। बैंकहरूको प्रत्यक्ष क्षति ७२ करोड ४० लाख र २ हजार १२५ ऋणीको २ अर्ब ४२ करोड ८० लाखभन्दा बढीको कर्जा जोखिममा परेको छ।
