काठमाडौं । भारतले करिअर कूटनीतिज्ञ सुधाकर दलेलालाई नेपालका लागि नयाँ राजदूतमा नियुक्त गर्न प्रस्ताव गरेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल गत साता पूरा भएपछि भारतले दलेलाको नाम प्रस्ताव गरेको हो। भारतीय पक्षले मंगलबार मात्रै राजदूतको एग्रिमोका लागि परराष्ट्र मन्त्रालयमा दलेलाको नाम प्रस्ताव गरेको बताइएको छ।
नेपाल–भारत सम्बन्ध तथा दक्षिण एसियाली मामिलामा लामो अनुभव भएका दलेला सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका थिए। उनले इजरायल, ब्राजिल, अमेरिका, बंगलादेश, जेनेभा र भुटानस्थित भारतीय कूटनीतिक नियोगमा जिम्मेवारी सम्हालेका छन्। सन् २०२२ देखि २०२५ सम्म उनी भुटानका लागि भारतीय राजदूत थिए।
दलेलाले भारतीय विदेश मन्त्रालयमा नेपाल र भुटान मामिला हेर्ने संयुक्त सचिव ९उत्तर०का रूपमा सन् २०१६ देखि २०१९ सम्म काम गरेका थिए । त्यसअघि सन् २००६–०७ मा नर्थ डिभिजनमै निर्देशक तथा सन् २००९–२०११ मा भारतीय प्रधानमन्त्री कार्यालयका निर्देशकका रूपमा कार्यरत थिए।
प्रधानमन्त्री कार्यालयमा रहँदा उनले दक्षिण एसियाली छिमेकी मुलुक, पूर्वी एसिया, हिन्द–प्रशान्त क्षेत्र, खाडी, मध्यपूर्व र अफ्रिकी मुलुकसँगको भारतको सम्बन्धसम्बन्धी विषय हेरेका थिए।
