काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासमा परेको छ। ओली पत्नी राधिका शाक्यले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै आइतबार अदालतमा रिट दायर गरेकी थिइन्। ओलीलाई भदौ २३ र २४ गतेको जेनजी आन्दोलन दमन गरेको आरोपमा सरकारले शनिबार बिहान पक्राउ गरेको थियो।
उनलाई काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। उनी स्वास्थ्यका कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन्। यस्तै कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ।
शनिबारै विहान पक्राउ परेका लेखकलाई पनि काठमाडौं जिल्ला अदालतले आइतबार अनुसन्धानका लागि ५ दिन थुनामा राख्न अनुमति दिएको थियो। लेखकलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै उनकी पत्नी यशोदा लेखकले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी हुन्।लेखकलाई हाल महाराजगञ्जस्थित प्रहरीको दुई नम्बर गणमा राखिएको छ।
