काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनसँगै लामो समयदेखि अन्योलमा परेको प्याराग्लाइडिङ खेल अब पुनः सुरु हुने भएको छ। साहसिक खेल र मनोरञ्जनका लागि विश्वप्रसिद्ध पोखराको आकाशमा प्याराग्लाइडिङलाई निरन्तरता दिन नेपाल हवाई खेलकुद संस्थाले यही चैत ५ गतेदेखि ७ गतेसम्म ‘२१ औं नेपाल खुल्ला पुरुष तथा महिला प्याराग्लाइडिङ च्याम्पियनसिप’ आयोजना गर्ने भएको हो।
यसअघि पोखरामा दैनिक १ हजारदेखि १ हजार २०० सम्म स्वदेशी तथा विदेशी पर्यटकले प्याराग्लाइडिङको आनन्द लिने गरेका थिए। तर, अन्तर्राष्ट्रिय विमानस्थलको उडान सुरक्षाका कारण यो व्यवसाय संकटमा परेको थियो। लामो समयको बन्दले गर्दा पोखरामा दर्ता भएका ६० वटा प्याराग्लाइडिङ कम्पनीमा कार्यरत करिब ३ सय ५० पाइलट बेरोजगार बनेका थिए भने करोडौंको लगानी रहेको पर्यटन क्षेत्र नै धराशायी हुने अवस्थामा पुगेको थियो।
अन्नपूर्ण र माछापुच्छ्रे हिमालको सुन्दर दृश्यका साथै फेवाताल र आसपासका पर्यटकीय स्थलको अवलोकनका लागि प्याराग्लाइडिङ पर्यटकहरूको पहिलो रोजाइमा पर्ने गर्छ। च्याम्पियनसिपको घोषणासँगै पर्यटन क्षेत्रमा नयाँ आशा पलाएको छ। प्रतियोगितामा सहभागिताका लागि हालसम्म स्वदेशी र विदेशी गरी ९० जना प्याराग्लाइडिङ पाइलटहरूले आफ्नो नाम दर्ता गराइसकेका छन्।
प्रतियोगितामा पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुने विजेताले क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार रुपैयाँ नगदका साथै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी, महिलातर्फका विजेताहरूलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन्।
