काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पराजयको पछाडि ठूला राजनीतिक दलहरूको अस्वाभाविक सेटिङ र मोर्चाबन्दी भएको दाबी गरेका छन् । कुलमान काठमाडौं ३ बाट चुनाव उठेका थिए । यस क्षेत्रमा लोकप्रिय भनेर चर्चा भएका उनी रास्वपाका राजुनाथ पाण्डेसँग पराजित भएका हुन् । पाण्डेले १८७५७ मत ल्याउँदा घिसिङ ११,१७१ मतमा रोकिए ।
नेपाल प्रेससँगको छोटो कुराकानीमा घिसिङले निर्वाचनको अन्तिम समयमा नेपाली कांग्रेस र एमाले मिलेर आफूविरुद्ध ठूलो षड्यन्त्र बुनेको र पैसाको व्यापक चलखेल गरेको आरोप लगाए । उनले भने, ‘यसपालि कांग्रेस र एमाले मिलेर सिध्याए । देशमा पैसाको यस्तो चलखेल भयो कि कल्पना नै गर्न सकिँदैन । मलाई हराउन पुराना दलहरूले अस्वाभाविक लगानी गरेका थिए । रोक्नका लागि केवल स्थानीय शक्ति मात्र नभई राष्ट्रिय र केही अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरू समेत प्रत्यक्ष रूपमा सक्रिय रहेका थिए । सबै त्यहीँ खनिएका थिए ।
यति ठूलो घेराबन्दी हुँदाहुँदै पनि जनताले दिएको अभिमतलाई सम्मान गर्छु । पराजयलाई लोकतान्त्रिक पद्धतिको रूपमा स्वीकार गरेको छु । विजयी उम्मेदवारलाई शुभकामना दिँदै देश निर्माणको काम अगाडि बढोस् भन्ने कामना छ ।’
निर्वाचनको परिणाम सोचे जस्तो नआउनु र आफ्नो उपविजेता हुनुमा रास्वपासँग चुनावअघि एकता गर्नु र छुटिनु पनि अर्को प्रमुख कारण रहेको घिसिङको बुझाइ छ । रास्वपासँग मिल्दा फाइदाभन्दा बढी क्षति बेहोर्नुपरेको उनको स्वीकारोक्ति छ । अब हाम्रो उज्यालो नेपाल पार्टीलाई नै निरन्तर अगाडि बढाउँछौँ,’ घिसिङले भने । चुनावमा पराजित भए पनि आफू विचलित नभएको उनको भनाइ छ । सीमित व्यक्तिको स्वार्थ र शक्तिको दुरुपयोगले गर्दा जनताको आशामाथि प्रहार भएको तर उज्यालो नेपाल बनाउने संकल्प जारी राख्ने उनले बताए ।
