मकवानपुर । गाउँशहर सबैतिर चुनावको चर्चाले व्यापकता पाइरहँदा पूर्वपश्चिम राजमार्गबाट करिब दुई किलोमिटर दूरीमा रहेको मनहरी गाउँपालिका–४ टवाङ्ग्राखोला छेउको लोपोन्मुख वनकरिया बस्तीमा भने अझै चहलपहल छैन। निर्वाचनको मिति नजिकिँदै जाँदा पनि मत माग्न सो बस्तीमा अहिलेसम्म कुनै उम्मेदवार तथा दलका नेता कार्यकर्ता नपुग्दा स्थानीय बेखर जस्तै भएका हुन्। ‘अहिलेसम्म कुनै नेता भोट माग्न आएका छैनन्। भोट कसरी हाल्ने भन्ने सिकाउन पनि कोही आएका छैनन्’, राम वनकरियाले भने, ‘मोबाइल र रेडियो एफएमबाट चुनावबारे खबर पाएका छौँ, तर कसरी भोट हाल्ने भने हामीलाई केही थाहा छैन।’
योबस्तीमा २४ परिवार वनकरिया समुदायको बसोबास छन्। कुनै वेला पर्साको मध्यवर्ती क्षेत्र चुरेघाँचमा फिरन्ते जातका रूपमा चिनिने लोपोन्मुख वनकरिया जातिलाई सरकारले २०६२ सालमा जङ्गली जीवनबाट मानवबस्तीमा सारेको थियो। जिल्ला वन कार्यालय मकवानपुरले कबुलियती वन समूहअन्तर्गत नौ हेक्टर जमिन उपलब्ध गराएको थियो। सोही ठाउँमा ती जातिका मानिस करिब २० वर्षदेखि बन्दै आएका छन्। विसं २०७८ को जनगणनाअनुसार वनकरिया जातिको कुल जनसङ्ख्या १८० र मातृभाषा बोल्ने जनसङ्ख्या ८६ मात्र छ।
वनकरिया जातिको नेपालको त्यो बस्तीमा मात्र बसोबास रहेको वनकरिया समुदायकी अगुवा सन्तोषी वनकरियाले जानकारी दिइन्। उनका अनुसार बस्तीमा हाल ४५ महिला र ४६ पुरुष गरी ९१ जना वनकरिया छन्। बस्तीका ९१ मध्ये ५० जनाको नागरिकता बनिसकेको छ। २६ जनाको मतदाता नामावलीमा नाम छ। केही वर्षअघिसम्मका फिरन्ते वनकरियाले अहिले खेतीपातीसँगैै कुखुरा, बाख्रा र भैँसी पालेका छन् भने कोही ज्यालामजदुरीको काम गर्छन्।
बिहान र बेलुकाको जोहो गर्नमा व्यस्त रहने ती बस्तीका स्थानीय सन्तमाया वनकरियाले भनिन्, ‘अहिलेसम्म तीन वटा चुनावमा मत हालेर प्रतिनिधि जिताएर पठायौँ तर, कसैले आफूहरूको समस्या बुझ्न सकेका छैनन्।’ त्यसैले आफ्ना समस्या बुझ्ने र समस्या समाधान गर्ने उम्मेदवारलाई मत दिने उनी बताउँछिन्। निर्वाचनका बेला आफूहरूलाई भोट लिने तर चुनाव जितेपछि नेताहरूे बस्तीमा फर्केर नआउने गरेको यहाँका मतदाताको गुनासो छ। वनकरियाले बसोबास गरिरहेको जग्गाको लालपुर्जा माग गर्दै आएका छन्।
‘सरकारले हामीलाई यहाँ ल्याएर राख्यो, हामी २० वर्षदेखि यहाँ बस्दै आएका छौँ’, सन्तमायाले भने, ‘२० वर्षका लागि हामीलाई यहाँ बसोबास गरायो, अहिलेसम्म हाम्रो नाममा जग्गा आउन सकेन्। कुन दिन यो ठाउँ पनि छोड्नुपर्ने हो भन्ने अन्योल र त्रासमा हामी छौँ।’‘चुनावका बेला नेताहरूले लालपुर्जा दिलाउँछौँ भन्ने प्रतिबद्धता गरेर जान्छन्’, विष्णुमाया वनकरियाले भनिन्, ‘तर जितेर गएपछि फर्किएर कोही आउँदैनन्। हामीले लालपुर्जा पाउने कि नपाउने भन्ने अन्योलमा छौँ।’ बसोबास गरेको जग्गाको लालपुर्जा नहुँदा चहारे पनि कुनै व्यापार, व्यवसाय गर्न नसकिएको उहाँको भनाइ छ।
‘आफूहरू मुख्य समस्या जग्गाधनी लालपुर्जा हो’, सन्तोषी वनकरियाले भनिन्, ‘जग्गाधनी लालपुर्जाका लागि स्थानीय सरकारदेखि प्रदेश र सङ्घीय सरकारलाई गुहा¥यौँ, तर अहिलेसम्म सफल हुन सकेका छैनौँ।’ ‘हामीले मत दिएर नेतालाई जिताएर पठाउँछौँ, तर अहिलेसम्म जग्गाधनी पुर्जा पाउने वा नपाउने निश्चित भइसकेको छैन’, सन्तमायाले भनिन्, ‘हाम्रो भोट लिएर थुप्रै नेता कुर्सीमा पुगे, तर हाम्रो समस्या ज्यूँकात्यूँ छन्। चुनावका बेला यो गर्दिन्छु, त्यो गर्दिन्छु भनेर मत लिन्छन्। तर चुनाव जितेपछि हाम्रो समस्या बुझ्न एकपटक आउँदैनन्।’
मतदान गर्न तयार भए पनि कसलाई र कसरी मत हाल्ने भन्नेमा अन्योल रहेको बताउँदै उनले आफूहरूलाई जग्गाको लालपुर्जा दिलाउने उम्मेदवारलाई मात्र मतदान गर्ने धारणा राखिन्।
यो क्षेत्रमा विभिन्न राजनीतिक दलका १६ र स्वतन्त्र पाँच गरी २१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यो क्षेत्रमा नेपाली कांग्रेसबाट बुद्ध लामा, नेकपा एमालेबाट महेशकुमार बर्तौला, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०बाट लवशेर विष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०बाट रामबहादुर थोकर, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट प्रशान्त उप्रेती, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोष विष्ट, श्रम संस्कृति पार्टीबाट युनेश लामा सिंतान, उज्यालो नेपाल पार्टीबाट डा प्रविणकुमार स्याङ्तान चुनावी मैदान छन्।
त्यस्तै नेपाल मजदुर किसान पार्टीबाट सरोज तामाङ, नेकपा माओवादीबाट राम घलान, जनता समाजवादी पार्टीबाट छविलाल वाइबा, मङ्गोल नेशनल अर्गनाइजेसनबाट हिरालाल स्याङ्तान, संयुक्त नागरिक पार्टीबाट शुभराज प्रजा चुनावी प्रतिस्पर्धामा छन्। स्वतन्त्र रूपमा कृष्णराम श्रेष्ठ, रमेश आचार्य, प्रतिक्षा बानियाँ, अमृत बललगायत चुनावी प्रतिस्पर्धामा छन्।
अघिल्लो २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका बर्तौला ३४ हजार ९१६ मत ल्याएर निर्वाचित भएका थिए। राप्रपाका थोकर दोस्रो पटक चुनावी प्रतिस्पर्धा उत्रिएका हुन् भने अन्य उम्मेदवार नयाँ हुन्। कांग्रेसका लामा पार्टीको मकवानपुर जिल्ला सभापति हुन्।
मकवानपुर क्षेत्र नं २ मा ८२ हजार ३३३ पुरुष र ७४ हजार ५६६ महिला गरी एक लाख ५६ हजार ८९९ मतदाता छन्। सो क्षेत्रमा १०५ मतदानस्थलमा १९६ मतदान केन्द्र रहेका छन्। भौगोलिक रुपमा विकट मानिएको यस क्षेत्रमा चेपाङ र तामाङ समुदायको बाहुल्य छ।
