काठमाडौँ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन् । बुधबार नेपाली कांग्रेसका सभापति गगन थापालाई सम्बोधन गर्दै गुरुङले पार्टी केन्द्रीय कार्यालय सानेपामा राजीनामा पत्र बुझाएका हुन् ।
२०७८ साल फागुन ९ गते तरुण दलको अध्यक्षमा नियुक्त भएका गुरुङले पार्टीले दिएको जिम्मेवारीका लागि निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान केन्द्रीय कार्यसमितिप्रति आभार प्रकट गरेका छन् । राजीनामा पत्रमा उनले आफ्नो कार्यकालमा सहयोग गर्ने पूर्वअध्यक्षहरू, कार्यसमिति सदस्यहरू, जिल्ला सभापतिहरू र देशभरका तरुण साथीहरूलाई धन्यवाद दिएका छन् ।
राजीनामा पत्रमा पार्टीले २०८३ मंसिर मसान्तभित्र पाँचौँ महाधिवेशन सम्पन्न गर्ने समय सीमा तोकेको भए तापनि देशको पछिल्लो राजनीतिक घटनाक्रमले उत्पन्न असहज परिस्थितिका कारण महाधिवेशन सम्पन्न गर्न नसकिएको गुरुङले स्वीकार गरेका छन् ।
उनले लोकतन्त्रको सुदृढीकरण र नयाँ जनादेशलाई संस्थागत गर्न तरुण दललाई समय र युग सुहाउँदो ढङ्गले अगाडि बढाउनुपर्ने पनि राजीनामा पत्रमा उल्लेख गरेका छन् । गुरुङले पार्टी निर्माणको अभियानमा सहज वातावरण बनोस् भन्ने उद्देश्यले आफूले राजीनामा दिएको उल्लेख बताएका छन् ।
