काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा नेपाल ओमानसँग लज्जास्पद हार बेहोरेको छ । ओमानले दिएको ३०६ रनको लक्ष्य पछ्याएको नेपाल ३६ ओभर ५ ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो । त्यसपछि वर्षा नरोकिएपछि डीएल पद्धति अनुसार नेपाल १०२ रनले पराजित भएको हो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी ६० रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । उनले ६२ बलमा ७ चौका र एक छक्का प्रहार गरे ।
ओपनर कुशल भुर्तेल एक, आसिफ शेख १९, भीम सार्की २८, कप्तान रोहित पौडेल १०, बसिर अहमद १ र आरिफ शेख १४ रनमा आउट भए । गुल्सन झा १४ र सोमपाल कामी २ रनमा अविजित रहे । बलिङमा ओमानका नदीम खानले सर्वाधिक ३ विकेट लिए । शकील अहमदले २ र वासिम अली र इम्रान मोहम्मदले एक(एक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५ रन बनाएको थियो । ओमानका लागि कप्तान जतिन्दर सिंहले शतक प्रहार गरे ।
ओपनर जतिन्दरले ९६ बलमा १३० रन बनाए । उनले १५ चौका र ५ छक्का प्रहार गरे । आशिष ओडेराले २३, नदीम खान १, हम्माद मिर्जा ३०, विनायक शुक्ला २३, जितेन रामानन्दी ४३, शकील अहमद ० र आर्यन विश्ट ३५ रनमा आउट भए । सिद्धार्थ बुकापटनम १ र वासिम अली १२ रनमा अविजित रहे । बलिङमा नेपालका लागि सोमपाल कामीले ४, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिएका छन् । सिरिजअन्तर्गत नेपालले आफ्नो तेस्रो खेल शुक्रबार युएईसँग खेल्नेछ ।
