ताप्लेजुङ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री कार्कीले मुख्य निर्वाचन अधिकृतसहित स्थानीय सुरक्षा प्रमुखलाई निर्देशन दिनुहुँदै प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।
निर्वाचनको तयारी तथा वातावरण र सुरक्षा अवस्थाबारे जानकारी लिन शुक्रबार ताप्लेजुङको भ्रमणमा आउनुभएकी प्रधानमन्त्री कार्कीले देशभर निर्वाचनको माहोल बनिसकेको बताउनुभयो । जिल्लास्थित निर्वाचनसम्बद्ध पदाधिकारी तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुहुँदै प्रधानमन्त्री कार्कीले सम्भावित चुनौतीलाई दृष्टिगत गरी निर्वाचन सुरक्षा र यसको व्यवस्थापनमा ध्यान केन्द्रित गर्न सुझाउनुभयो ।
छिमेकी देश भारतको सिक्किम र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ताप्लेजुङमा रहेका संवेदनशील मतदान स्थलमा सुरक्षा व्यवस्था मजबुत बनाउन प्रधानमन्त्री कार्कीले निर्देशन दिनुभयो । उहाँले मतदान स्थलको संवेदनशीलतासँगै सम्भावित हुलदङ्गा अर्थात् बुथ कब्जा गर्ने, होहल्ला गर्ने जस्ता घटना हुन सक्ने भएकाले अधिकारीलाई सोही अनुसार प्रबन्ध मिलाउन सुझाउनुभयो ।
कुनै पनि तवरबाट निर्वाचनको वातावरण बिथोल्ने, अशान्ति मच्चाउने, असामाजिक गतिविधि गर्ने तŒवप्रति सचेत रहनुपर्ने पनि प्रधानमन्त्री कार्कीको भनाइ छ । त्यस्ता अराजकता र असामाजिक व्रिmयाकलाप गर्ने समूह वा तŒवको पहिचान गरी निरुत्साहित गर्नेतर्फ ध्यान दिनुपर्ने पनि उहाँले बताउनुभयो । यस किसिमका सम्भावित घटना वा सही आकलनका लागि सुरक्षा संयन्त्र चनाखो र मजबुत हुनुपर्नेसमेत उहाँले बताउनुभयो ।
यता हालसम्म जिल्लामा भइरहेको निर्वाचन तयारीका विषयमा प्रधानमन्त्री कार्कीले जानकारी लिनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनसम्बन्धी कार्यसम्पादन, आवश्यक समन्वय, सुरक्षा संयन्त्रले गरिरहेको मतदान स्थलको अवलोकन र निरीक्षण जस्ता कामप्रति उहाँ सन्तुष्ट बन्नुभएको बताइएको छ । हालसम्म भएका प्रगति अनुसार निर्वाचन सम्पन्न गर्न सुरक्षा प्रबन्धसहितका कार्यमा कमी हुन नदिन पनि प्रधानमन्त्री कार्कीले आग्रह गर्नुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको ताप्लेजुङ जिल्ला अदालतमा भएको निर्देशनात्मक परामर्श भेटघाट कार्यव्रmममा निर्वाचनको तयारी र हालसम्मको प्रगतिबारे मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विकास श्रेष्ठले प्रधानमन्त्री कार्कीसमक्ष अवगत गराउनुभएको थियो । त्यस्तै सुरक्षा अवस्थाबारे प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले अवगत गराउनुभएको छ ।
प्रधानमन्त्री कार्कीले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनसमेत गर्नुभएको छ । शुक्रबार बिहान ८ बजे ताप्लेजुङ आइपुगेकी प्रधानमन्त्री कार्कीले सुरुमा पाथीभराको दर्शन गर्नुभएको हो । पाथीभरा दर्शनपछि सदरमकाम फुङ्लिङमा निर्वाचनसम्बद्ध पदाधिकारी र सुरक्षा निकायका प्रमुखसँग परामर्श भेटघाट गरी अपराह्न १२ बजेतिर प्रधानमन्त्री काठमाडौँ फर्किनुभयो ।
