काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले एआई तथा एड्भान्स एनालेटिक सेल गठन गर्न लागेको बताएका छन् । सूचना प्रविधिको दुरुपयोग गरेर झुटा सामग्रीहरू प्रशारण गर्ने कामले बढवा पाएकाले त्यस्ता गतिविधिलाई निगरानी गर्न र कानूनी उपचारका लागि पनि नेपाल प्रहरीले सो सेवा गठन गर्न लागेको उनको भनाइ छ ।
सोमवार काठमाडौंमा आयोजित अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मुलुकमा झुटा र गलत समाचारले बढवा पाइरहनु चिन्ताको विषय भएको बताए ।
‘आजको डिजिटल युगमा सबभन्दा छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मिस इन्फरमेशन हुने, इरादा फरक भएर डिसइन्फरमेशन हुने, हेट स्पिज एआईको दुरुपयोग तथा डिजिटल म्यानुपुलेशनबाट सृर्जित झुटा सामग्रीले बढवा पाइरहनु हामी सबैका लागि साझा चिन्ताको विषय हो । कानून कार्यान्वयन नै कानूनी शासनको आधार हुने हुँदा कटपेष्ट, कपीपेष्ट को यान्त्रिकतामा सृजनशीलताको शुन्यता हुन्छ,’ उनले भने ।
