जनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन तयारीका लागि युद्धस्तरमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। जनकपुरधाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सत्ताको कार्यकारी पदसम्म मधेसको वकालत र अधिकारका लागि लड्ने मधेसीहरुलाई नपुर् याएसम्म मधेसी र मधेसी जनता समृद्ध र शक्तिशाली हुन नसक्ने बताए।
उनले निर्वाचन क्षेत्र बाँडफाँटको क्रममा मधेसी जनतासँग बेइमानी गरिएको आरोप लगाउँदै जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाइनुपर्ने माग गरे। अध्यक्ष यादवले यो निर्वाचनले देश र मधेसको दिशा निर्धारण गर्ने भएकाले सबै नेता–कार्यकर्तालाई युद्धस्तरमा खटिएर निर्वाचन सफल बनाउन निर्देशन दिए।
उनले २०८४ मा हुनुपर्ने निर्वाचन २०८२ मै हुन लाग्नुमा सत्ता सञ्चालन गरिरहेका नेताहरू नै मुख्य जिम्मेवार रहेको उल्लेख गर्दै भने मुलुकले हाल भोगिरहेको भयावह अवस्थाको कारण नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र रहेको आरोप लगाए। यसैबीच, केही समयअघि राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी परित्याग गरेका केन्द्रीय सचिव संजय कुमार चौधरी र केन्द्रीय अनुशासन विभाग अध्यक्ष तथा कार्य समिति सदस्य संजय कुमार सिंहसहित विभिन्न दलका नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका छन्।
नवप्रवेशीहरुलाई अध्यक्ष यादवले स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए। कार्यक्रममा जसपा नेपालका मधेस प्रदेश अध्यक्ष बालकिशोर यादव, प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री राजकुमार गुप्ता, श्रम तथा यातायात मन्त्री मनिष कुमार सुमन, युवा नेता प्रशान्त झा, शत्रुधन यादव तथा सूचना विभाग प्रमुख जितेन्द्र यादवलगायत नेताहरूको उपस्थिति रहेको थियो।
