काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ( नेकपा ) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको बूढीगण्डकी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा सुरक्षामा सक्रिय हुन सबैलाई आग्रह गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत प्रचण्डले बाढीका कारण चुमनुब्री, धार्चे र आरुघाटलगायत क्षेत्रमा ठूलो क्षति पुगेको खबरले आफू मर्माहत भएको बताएका छन्। बाढीले पुल तथा घरहरू बगाएको खबरप्रति दुःख व्यक्त गर्दै उनले प्रभावितको उद्धार र राहतलाई प्राथमिकता दिन आग्रह गरेका हुन्।
उनले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहनसमेत अनुरोध गरेका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सबै पक्ष सक्रिय हुनुपर्नेमा प्रचण्डले जोड दिएका छन्।
