गोरखा । बूढीगण्डकीमा बाढी आउँदा ठूलो भौतिक क्षति भएको छ। आइतबार बिहान माथिल्लो गोरखाको चुमनुब्री गाउँपालिका–६ को लोकपा र चुम्लिङको बीचमा ठूलो पहिरो गएर बूढीगण्डकी थुनिएपछि बाढी आएको हो। चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच पहिरो खस्दा थुनिएको बुढीगण्डकी नदीबाट आएको बाढीले विभिन्न स्थानमा क्षति पुर्याएको छ।
बाढीले चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ। त्यस्तै सिर्दिबास निवासी रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको र अर्को एउटा घरमा बाढी पसेको छ।
धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बगाएको छ। माछिखोलाकै तल्लो बस्तीमा बाढी पस्दा ५–७ वटा घर र ५–७ वटा टहरामा बाढी पसेको छ। धार्चे गाउँपालिका–३ सल्लेरीस्थित २०–२२ वटा घर जोखिममा रहेको बताइएको छ। सल्लेरीमै रहेको बूढीगण्डकी जलविद्युत आयोजनाको क्याम्प भवन बगाएको छ। त्यहाँको बस्ती भने सरकारले मुआब्जा दिएर हटाएको थियो।
बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल बगाएको छ। विस्तृत क्षति विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रहिरीले माइकिङ गरेको छ। गृहमन्त्री सुधन गुरूङले तीनवटै सुरक्षा निकाय परिचालन गरिसकिएको जानकारी दिएको छ।
