काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको बैठकलाई आज पहिलोपटक सम्बोधन गर्दै तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधि सभाको निर्वाचन हुने विश्वास व्यक्त गरेकी छिन् । यही माघ ४ गतेदेखि सुरु भएको सभाको १९औँ अधिवेशनअन्तर्गतको पाँचौँ बैठकमा प्रधानमन्त्री कार्कीले सम्बोधन गर्दै सरकारका प्राथमिकताका रूपमा रहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र सुशासनका क्षेत्रमा भइरहेका कामबारे सदस्यहरूलाई जानकारी गराइन् ।
उनले आफू कुनै शासकीय आकाङ्क्षा बोकेर नभई विषम परिस्थितिमा प्रधानमन्त्री भएकाले तोकिएको सयमा प्रतिनिधि सभाको निर्वाचनबाट बन्ने नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न आफू आतुर रहेको पनि स्पष्ट गरिन् । प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको अवस्थामा गठित अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभाको हालै भएको निर्वाचनमा विजयी सदस्यहरूलाई बधाई पनि दिइन् । प्रधानमन्त्री कार्कीले ‘विकास, आर्थिक मामिला तथा सुशासन’ समितिका सभापति कमला पन्तबाट प्रस्तुत ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथिको छलफलमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ पनि दिइन् ।
प्रधानमन्त्री सुशीला कार्कीले बिथोलिएको संवैधानिक व्यवस्थालाई ट्रयाकमा ल्याउन र देशलाई सङ्कटबाट बचाउन परिवर्तनकामी युवा पुस्ताको आग्रह, राजनीतिक दलहरु र राष्ट्रपतिसँगको छलफलका आधारमा विषम परिस्थितिमा आफूले प्रधानमन्त्रीको जिम्मेवारी लिएको बताएकी छिन् । राष्ट्रिय सभामा आज सम्बोधन गर्दै उनले गत भदौ २३ र २४ गते जेनजी युवाहरुको नेतृत्वमा भएको विद्रोह हाम्रा शासकहरुमा युवा आकांक्षाको बेवास्ता, मुलुकमा व्याप्त भ्रष्टाचार र राज्य सञ्चालनमा देखिएको संवेदनहीनताविरुद्धको चेतनाको प्रतिविम्ब थियो भनेर टिप्पणी गरिन् । रासस
