काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको अबको नेतृत्वमा नजिकै रहेको नाताले महामन्त्री गगन थापा र आफू जाने बताएका छन् । भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा सम्बोधन गर्दै महामन्त्री शर्माले उक्त कुरा बताएका हुन् । पार्टीको ड्राइभिङ सिटमा नजिकै रहेको नाताले पार्टीका महामन्त्री दुवै जानेछौँ । त्यसको जिम्मेवारी हामी पनि लिन्छौँ । त्यसैलाई स्विकारेरै हामीले भनेका हौँ,ु उनले भने, ुअब नयाँ परिस्थिति बनेको मुलुकमा ।
नयाँ परिस्थितिलाई सामना गर्नको लागि नयाँ परिस्थिति निर्माण गर्नका निम्ति पुरानो राखेर हुँदैन मनस्थिति बदल्नुपर्छ । त्यो सोचलाई बदल्नुपर्छ । पुरानै आनिबानीलाई राखेर नयाँ बनाउन सकिन्न ।ु महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु भएको छ । यसमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता निरन्तर चलिरहेको छ ।
आज आठ वटा ‘स्टल’बाट नाम दर्ता प्रक्रिया चलिरहेको छ । आज बिहान ९ बजेदेखि प्रतिनिधिको नाम दर्ता सुरु भएको थियो । कांग्रेसले कर्णाली र सुदूरपश्चिमका लागि एक स्टल, विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाका लागि एक स्टल, उपत्यका भित्रका काठमाडौँ, भक्तपुर र ललितपुरका लागि एक स्टल र बाँकी पाँच प्रदेशका लागि छुट्टाछुट्टै स्टलको व्यवस्था गरेको जनाएको छ ।
कांग्रेसमा देशभर चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् । विशेष महाधिवेशनको उद्घाटन सुरु हुनुअघि सहभागीले काठमाडौँका विभिन्न छ स्थानबाट जुलुस निकालेका थिए । विशेष महाधिवेशन महामन्त्रीद्वय थापा र शर्माले भृकुटीमण्डमा उद्घाटन गरेका छन् । बन्दसत्र भृकुटीमण्डपको सभाहलमा सञ्चालन हुनेछ ।
