काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आयोजनामा पहिलोपटक भएको ‘काठमाडौँ चलचित्र महोत्सव’ सम्पन्न भएको छ। बौद्धस्थित तारागाउँ नेक्स्टको एम्फिथिएटरमा फेस्टिभलको समापन गरिएको हो। कार्तिक १३ गते बसन्तपुरबाट सम्पदा यात्रासहित सुरू भएको फेस्टिभल काठमाडौंका विभिन्न स्थानमा तीनदिनसम्म चलेको थियो। जहाँ पुराना नेपाली फिल्म ‘के घर के डेरा’ र ‘कुमारी’ सहित सर्ट भिडिओ, नेपाली र अन्तर्राष्ट्रिय पानोरामाका ४० चलचित्र प्रदर्शन गरिएको थियो।
समापन समारोहमा बोल्दै कार्यवाहक मेयर सुनिता डंगोलले काठमाडौँले युनेस्कोको रचनात्मक सहर सञ्जालमा आबद्ध हुँदा चार वर्षभित्र फिल्म फेस्टिभल आयोजना गर्ने गरेको प्रतिबद्धता पूरा गरेको बताइन्। ‘यो सुरुवात हो। यो कार्यक्रम नेपाली चलचित्र उद्योगप्रति समर्पित कार्यक्रम हो। पहिलो कार्यक्रमबाट प्राप्त गरेको सिकाइ, सुधारका लागि प्राप्त सुझावलाई ग्रहण गर्दै आगामी संस्करणलाई थप परिष्कृत र व्यवस्थित गर्दै लैजानेछौँ ।’
कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार नीर शाहले उच्च स्तरको महोत्सव थालनी भएको बताउँदै यसको अनुभवलाई अभिलेखन, पुस्तान्तरण र प्रवर्धन गर्नु पर्ने बताए। उनले भने, ‘काठमाडौँ महानगरपालिकाले अहिले जे काम गरेको छ। यो काम सरकारले पहिले नै थाल्नु पर्ने थियो। तर जे होस्, ढिलै भए पनि काठमाडौँले थालनी गरेको छ। यो नै ठुलो कुरा हो।’
त्यस्तै, अभिनेता राजेश हमालले यस फेस्टिभलको खुलेर तारिफ गरे। ‘समाजका कथा, अवस्थिति र परिस्थिति आम दर्शकलाई सुनाउन फिल्म नै सशक्त माध्यम हो। यसको विकासका लागि महानगरपालिकाले थालेको कामले कला, साहित्य र सिर्जनालाई बचाउन योगदान दिने निश्चित छ,’ हमालले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा विकास भएका प्रविधि र प्राविधिक ज्ञान प्राप्त गर्न र नेपालका अद्वितीय सम्पदाको विस्तार गर्न महानगरपालिकालाई सफल भए यसको लाभ स्वभाविक रुपमा नेपाली चलचित्र उद्योगमा पर्नेछ । त्यसैले महानगरपालिकाको कामलाई कला क्षेत्रबाट नियमित सहयोग प्राप्त हुनेछ ।’
त्यस्तै, सांघाई फिल्म एकेडेमीका विशिष्ट प्राध्यापक मार्को मुलरले नेपालमा चलचित्र उद्योगको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै फेस्टिभलले नेपालीसँगै अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रलाई पनि लाभ पुर्याउन सक्ने बताए।
