काठमाडौँ । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ । चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, सडक दुर्घटना न्यूनीकरण र नागरिकको सुरक्षाका लागि प्रहरीले थप ५० हजार चार सय जनशक्ति परिचालन गरेको छ । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक ( डीआईजी ) एवम् केन्द्रीय प्रहरी प्रवक्ता अबि नारायण काफ्लेका अनुसार दसैँदेखि नै लागू गरिएको सुरक्षा योजनालाई तिहारका लागि थप परिमार्जन गर्दै कडाइका साथ कार्यान्वयन गरिएको हो ।
असोज २१ गतेदेखि सञ्चालनमा रहेको सुरक्षा योजनाअन्तर्गत प्रदेश, जिल्ला तथा काठमाडौँ उपत्यकामा कमाण्ड पोस्ट स्थापना गरी सुरक्षा गतिविधि सञ्चालन भइरहेका छन् । प्रहरी प्रधान कार्यालयले जिल्ला सुरक्षा समितिका निर्णय तथा स्थानीय सुरक्षा चुनौतीलाई आधार बनाएर कार्ययोजना तयार गरी मातहतका कार्यालयलाई निर्देशन दिइसकेको छ । सोहीअनुसार सम्बन्धित जिल्लाले आफ्नो क्षेत्रको अवस्थाअनुसार थप सुरक्षा गतिविधि समेटेर योजना कार्यान्वयन गरिरहेका छन् ।
प्रवक्ता काफ्लेका अनुसार तिहारका बेला झैझगडा, मादक तथा लागुऔषध सेवन, होहल्ला, सार्वजनिक स्थानमा अवाञ्छित गतिविधि र प्रतिबन्धित पटका तथा विस्फोटक पदार्थको ओसारपसार र प्रयोगलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा पहिचान गरिएको छ । यस्ता गतिविधि रोक्न प्रहरीले विशेष निगरानी र नियन्त्रणका उपाय अपनाएको छ ।
त्यसैगरी चाडपर्वको समयमा हुन सक्ने आर्थिक ठगी तथा अनलाइन ठगी नियन्त्रणका लागि प्रहरीका सम्बन्धित संयन्त्र परिचालन गरिएको छ । सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना, गलत सूचना तथा अन्य साइबर गतिविधिमाथि निगरानी राख्न साइबर ब्युरोलाई समेत तयारी अवस्थामा राखिएको काफ्लेले बताउनुभयो ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिमाथि हुन सक्ने हिंसा, दुव्र्यवहार र आपराधिक गतिविधि रोक्न पनि प्रहरीले विशेष ध्यान दिएको छ । उनीहरूको सुरक्षाका लागि राज्यले व्यवस्था गरेका संरक्षणसम्बन्धी प्रावधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने प्रहरीको भनाइ छ ।
सडक सुरक्षा र सवारी जाँचमा विशेष निगरानी
तिहार मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिने र पर्व सकिएपछि पुनः फर्किने यात्रुको चाप बढ्ने भएकाले प्रहरीले सडक सुरक्षालाई पनि प्राथमिकतामा राखेको छ । यात्रुको आवागमन बढ्दा हुन सक्ने दुर्घटना तथा मानवीय क्षति न्यूनीकरण गर्न विशेष सुरक्षा व्यवस्था मिलाइएको काफ्लेले जानकारी दिनुभयो ।
सवारीसाधन छुट्ने मुख्य स्थानमै यान्त्रिक अवस्था परीक्षण गर्ने, चालकको सवारीचालक अनुमतिपत्र जाँच गर्ने तथा चालकले मादक वा लागुऔषध सेवन गरे नगरेको परीक्षण गर्ने व्यवस्था गरिएको छ । यसबाट यात्राको सुरुआतमै सम्भावित जोखिम पहिचान गरी दुर्घटना रोक्ने प्रहरीको उद्देश्य छ ।
सुरक्षा निगरानीलाई प्रभावकारी बनाउन प्रहरीले प्रविधिको प्रयोगसमेत बढाएको छ । सीसीटीभी, बडी क्यामेरा, कम्प्युटर प्रणालीबाट निगरानी तथा सूचनामा आधारित चेकजाँचलाई सुरक्षा योजनामा समेटिएको छ । भीडभाड हुने स्थानमा ड्रोनमार्फत समेत निगरानी गरिने प्रवक्ता काफ्लेले बताउनुभयो ।
खासगरी तिहारमा लामो समयका लागि घर छाडेर बाहिर जानेहरूलाई लक्षित गरी चोरीका घटना हुन नदिन प्रहरीले नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । विगतका घटनाको विश्लेषणका आधारमा घर खाली रहेको सूचना सार्वजनिक हुँदा चोरीको जोखिम बढ्न सक्ने भएकाले सामाजिक सञ्जालमा आफू घरमा नरहेको वा घर खाली गरेर गएको जानकारी नराख्न प्रहरीले अनुरोध गरेको छ ।
घर छाड्नुअघि बहुमूल्य गरगहना, नगद तथा मूल्यवान् सामान सुरक्षित स्थानमा राख्न, झ्यालढोका राम्ररी बन्द गर्न र ग्यास तथा बिजुलीको अवस्था जाँच गर्न पनि प्रहरीले सुझाव दिएको छ ।
सम्भव भएसम्म घरमा सीसीटीभी क्यामेरा जडान गर्न, नजिकका छिमेकीलाई घरको अवस्थाबारे जानकारी दिन वा स्थानीय प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत चोरी तथा अन्य आपराधिक गतिविधि रोकथामका लागि जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको काफ्लेले बताउनुभयो ।
उहाँका अनुसार अपराध नियन्त्रणमा नागरिकबाट प्राप्त हुने सानो सूचना पनि महत्त्वपूर्ण हुन सक्छ । कुनै शङ्कास्पद गतिविधि वा आपराधिक घटनाबारे जानकारी भए नेपाल प्रहरीको टोलफ्री नम्बर १०० मा चौबीसै घण्टा सम्पर्क गर्न सकिनेछ । प्रहरीका जिल्ला कार्यालयका सम्पर्क नम्बरसमेत सार्वजनिक गरिएको छ भने अनलाइनमार्फत उजुरी दिने व्यवस्था पनि रहेको छ ।
पटका भित्रिन नदिन नाकामै निगरानी
तिहारमा प्रतिबन्धित पटका तथा विस्फोटक पदार्थको अवैध ओसारपसार र प्रयोग रोक्न प्रहरीले सीमावर्ती क्षेत्रदेखि काठमाडौँ प्रवेश गर्ने नाकासम्म निगरानी बढाएको छ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मातहतका प्रहरी अधिकारी तथा कमाण्डरहरूलाई भर्चुअल माध्यमबाट स्पष्ट निर्देशन दिनुभएको प्रवक्ता काफ्लेले बताउनुभयो । उहाँका अनुसार सीमाबाट पटका भित्रिएर काठमाडौँका नाकामा पक्राउ पर्ने अवस्था आए सम्बन्धित नाकाका कमाण्डरलाई समेत जिम्मेवार बनाइने निर्देशन दिइएको छ ।
प्रहरीले चाडपर्वका क्रममा हुन सक्ने सबै प्रकारका आपराधिक गतिविधि नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउने जनाएको छ । प्रहरी महानिरीक्षकबाटै इमानदारी र व्यावसायिकताका साथ सुरक्षा जिम्मेवारी पूरा गर्न निर्देशन दिइएको काफ्लेको भनाइ छ ।
यस वर्षको दसैँमा विगतका तुलनामा ठूला दुर्घटना, चोरी तथा गम्भीर आपराधिक घटना कम भएको प्रहरीको आकलन छ । यद्यपि, केही छिटपुट घटना भएको र ती घटनाको अनुसन्धान अघि बढाइएको उहाँले जानकारी दिनुभयो । घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्ने प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।
तिहारलाई मर्यादित, सुरक्षित र उल्लासमय रूपमा मनाउन पाउने नागरिकको अधिकार सुनिश्चित गर्न नेपाल प्रहरी चौबीसै घण्टा परिचालन भएको काफ्लेले बताउनुभयो । प्रहरीले नागरिकलाई सुरक्षा व्यवस्थाको साझेदार बन्न आग्रह गर्दै कुनै पनि शङ्कास्पद गतिविधि देखिए तत्काल जानकारी गराउन अनुरोध गरेको छ ।
