काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहको यही मङ्सिरमा हुने भारत भ्रमणको तयारी नेपाल र भारत दुवै देशमा उच्च बनेको छ । प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमण सफल बनाउन नेपाल सरकार र भारत सरकारका तर्फबाट हुनुपर्ने आवश्यक तयारी तीव्र भएको छ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत कार्यभार समाल्न नेपाल आइसक्नुभएको छ भने भ्रमणको तयारीबारे छलफल गर्न भारतका विदेश सचिव बुधबार नेपाल आउँदै हुनुहुन्छ ।
भारत सरकारले मङ्सिरको दोस्रो साता अर्थात् मङ्सिर ७, ८ र ९ गतेलाई सम्भावित भ्रमणको मिति मानेर तयारी गरिरहेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार प्रधानमन्त्री शाहको भ्रमणको औपचारिक मिति दुवै देशको अनुकूलतामा छिट्टै तोकिने छ । प्रधानमन्त्री शाहको भ्रमणलाई औपचारिकताभन्दा माथि उठेर दुई देशबिच दीर्घकालीन र विकास साझेदारीमा केन्द्रित बनाउने योजनामा दुई देशको गृहकार्य केन्द्रित रहेको छ । परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार आसन्न भ्रमणको तीव्र गृहकार्यमा परराष्ट्र मन्त्रालय छ ।
सञ्चारकर्मीसँगको अन्तर्क्रियामा उहाँले आफ्नो भारत भ्रमणको समयदेखि नै प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी चलेको बताउनुभयो । भारतका विदेशमन्त्री सुब्रमन्यम जयशङ्करसँगको कुराकानीका क्रममा पनि प्रधानमन्त्री शाहको भ्रमण दुवै देशका लागि परिणाममुखी र केही प्रस्ट देखिने खालको हुनु पर्छ भन्नेमा जोड दिइएको थियो । विगतमा जस्तै व्यापार तथा पारवहन र दुई देशका सीमा व्यवस्थापनको विषयमा छलफल हुने छन् तर ती विषयभन्दा अझ अगाडि बढेर सम्बन्धलाई थप बलियो बनाउन सक्नु पर्छ भन्ने बुझाइ नेपाल सरकारको रहेको मन्त्री खनालले सुनाउनुभयो ।
सन् २००९ को व्यापार सम्झौता हरेक सात वर्षमा नवीकरण हुने गर्छ । अब सन् २०३० मा नवीकरणको पालो रहेको छ तर नेपाल सरकारले उक्त सम्झौताका केही बुँदामा परिवर्तन गरेर भारत सरकारसँग अहिलेदेखि काम गर्न चाहेको छ । यो कुरा परराष्ट्रमन्त्री खनालले भारत भ्रमण हुँदा समकक्षी जयशङ्करसँग राख्नुभएको थियो । यस विषयमा पनि प्रधानमन्त्री शाहको भ्रमणमा कुरा हुने मन्त्रालयले जनाएको छ । व्यापार, पारवहन, सम्पर्क सञ्जाल विस्तार, ऊर्जा र विपत्पछिको पुनर्निर्माणका विषय नेपालको प्राथमिकतामा रहेका छन् ।
नेपालमा कार्यान्वयनमा रहेका दुई देशबिचको साझेदारीयुक्त परियोजनाका उद्घाटन पनि भ्रमणका विषयवस्तु रहने छन् । काभ्रेको पनौतीमा बनेको प्रहरी एकेडेमी आदिको दुई देशका प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने सम्भावना छ । मन्त्री खनालको भ्रमणमा भारत सरकारसँग एक बिलियन डलर बराबरको सहयोगका लागि आग्रह गरिएको थियो । प्रधानमन्त्री शाहको भ्रमणमा वित्तीय प्याकेज, व्यापार तथा पारवहन, सम्पर्क सञ्जाल र हवाई सञ्जाल, ऊर्जा र विद्युत् व्यापारका क्षेत्र प्राथमिकतामा रहने मन्त्रालयले जनाएको छ ।
