कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारत भ्रमण व्यक्तिगत भएकाले राजनीतिसँग नजोड्न आग्रह गरेका छन्। भारत भ्रमणका लागि आज शुक्रबार बिहान काठमाडौँबाट कैलालीको धनगढी विमानस्थल आइपुगेका लामिछानेले व्यक्तिगत भ्रमण भएकाले कसैलाई ‘खिचडी नपकाउन’ अनुरोध गरेका हुन्।
आफू कारागार हुँदा नै उत्तराखण्डको नैनीतालस्थित कैचीँधाम जाने भाकल गरेकोले सोही पूरा गर्न जान लागेको उनले बताए। ‘व्यक्तिगत भ्रमणमा छु। पहिल्यादेखि जाने भाकल पनि थियो। धार्मिक आस्था विश्वास, मेरो परिवार पनि आध्यामिक भएकाले पहिलादेखि जाउँला भन्ने थियो। म कारागारमा हुँदा नै गरेको भाकल पूरा गरौँ भन्ने हो,’ उनले भने, ‘राजनीतिक भेटघाट केही छैन। व्यक्तिगत भ्रमण भएकाले कसैलाई खिचडी नपकाउन आग्रह गर्छु।’
भारत भ्रमणका लागि निस्केका उनी पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै त्यसतर्फ लागेका छन्। लामिछाने पत्नी निकितासहित आज बिहान काठमाडौँबाट हवाईजहाजमा धनगढी उडेका थिए। धनगढीमा अवतरणपछि लामिछाने सडकमार्ग हुँदै कञ्चनपुर सडकमार्ग हुँदै उनी गड्डाचौकी नाका भएर भारत गएका छन्। भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ।
