काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा भारतीय विदेशमन्त्री डा। एस। जयशङ्करसँग नेपाल–भारत सम्बन्ध र क्षेत्रीय चासोका विषयमा प्रत्यक्ष संवाद गरेका छन् । ‘अ वर्ल्ड बिट्विन अर्डर्स’ सम्मेलनमा बोल्दै उनले नेपालका पछिल्ला विपद्हरूमा भारतले गरेको सहयोगको खुलेर प्रशंसा गरेका छन् ।
अर्थ मन्त्रालयका अनुसार, अर्थमन्त्री वाग्लेले जलवायु परिवर्तनका कारण रसुवा र भोटेकोसीमा हालै आएको विपद् तथा सन् २०१५ को विनाशकारी भूकम्पमा भारतले देखाएको तत्परताको स्मरण गरे । ‘नेपालको मन्त्रीको हैसियतमा म के भन्न सक्छु भने, हालैको विपद् र भूकम्प दुवै समयमा पहिलो केही घण्टामै भारत त्यहाँ उपस्थित थियो र हामीलाई असाधारण सहयोग गर्यो,’ उनले भने, ‘यसप्रति नेपाल अत्यन्तै आभारी छ ।’
यसअघि अर्थमन्त्री वाग्लेले नेपालले भारतबाट प्राप्त गरेको विपद् प्रतिकार्य सहयोगको प्रशंसा गरेका थिए । उनले सन् २०१५ को भूकम्प र हालै रसुवा–भोटेकोशी क्षेत्रमा भएको विपद्का बेला भारतले विपद् आएको केही घण्टाभित्रै सहयोग उपलब्ध गराएको स्मरण गर्दै नेपाल त्यसप्रति कृतज्ञ रहेको बताए ।
विश्वव्यापी तनाव, आर्थिक विखण्डन र ठूला शक्तिहरूको बदलिँदो भूमिकाका बीच अन्तर्राष्ट्रिय सहकार्यलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा केन्द्रित उक्त संवादले बहुपक्षीयता, क्षेत्रीय साझेदारी र परिणाममुखी कूटनीतिबारे दुई नेताबीच विचार आदानप्रदानको अवसर प्रदान गरेको छ ।
