काठमाण्डौं । सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले सातामा दुई दिन बिदा कायमै रहने बताएका छन् । सातामा शनिबार र आइतबार बिदा हुँदै आएको छ। सरकारले पेट्रोलियम पदार्थ आपूर्तिमा असहजता भएको भन्दै आइतबार पनि बिदा दिन थालेको थियो। आज मन्त्रालयमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री पोखरेलले दुई दिन बिदा कायमै रहने बताए।
‘शैक्षिक संस्था र सरकारी कार्यालयमा सातामा दुई दिनका लागि दिइएको बिदाको पूर्ण उपयोग गर्नुहोस्। यस निर्णयमा पनि कुनै पुनः विचार हुँदैन,’ उनले भने। मन्त्री पोखरेलले चिकित्सक डा। गोविन्द केसीले चलाएका अभियानप्रति आफू विगतदेखि नै पक्षधर रहेको उल्लेख गर्दै उनीसँग अनौपचारिक संवाद भइरहेको बताए। उनले शैक्षिक परामर्श व्यवसायीका लागि निर्धारण गरिएको रु २५ लाख धरौटीको व्यवस्थाबाट सरकार पछि नहट्ने बताए।
मन्त्री पोखरेलले कतिपय व्यवासायीकै सुझावका आधारमा ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली २०८३’ मार्फत गरिएको त्यस्तो व्यवस्था फिर्ता नहुने स्पष्ट पारे। तीन प्रतिशत समता शिक्षा शुल्कमा सरकार पछि हटे जस्तै परामर्श व्यवसायका सम्बन्धमा पनि सरकार पछि हट्ने त होइन भन्ने पत्रकारको प्रश्नमा मन्त्री पोखरेलले त्यस्तो सोच नभएको बताए।
मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐनजस्ता कानुन निर्माण गर्दा भने सरोकार भएका पक्षसँग पूर्वपरामर्श गरिने पनि उल्लेख गरेका छन्। उनले विश्व श्विद्यायहरूलाई स्वायत्त र दलीय प्रभावमुक्त बनाउन नवनियुक्त उपकुलपतिहरूलाई आफ्नो सोचपत्रसहित अघि बढ्न आग्रह गरिएको बताएका थिए।
