काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारविरुद्ध संसद्, सडक र निर्वाचनमार्फत सशक्त संघर्ष गर्न वामपन्थी तथा लोकतान्त्रिक शक्तिलाई आह्वान गरेका छन्। शुक्रबार काठमाडौंमा ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले सरकारलाई “चारैतिरबाट घेरा हाल्ने” रणनीति अपनाउनुपर्ने बताएका हुन्।
दाहालले सरकारले गरिब, मजदुर, किसान तथा उत्पीडित समुदायका अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै त्यसविरुद्ध जनतालाई संगठित र आन्दोलित गर्नुपर्ने आवश्यकता औँल्याए। उनले संसद्, सडक र आगामी निर्वाचनलाई संघर्षका मुख्य माध्यमका रूपमा उल्लेख गर्दै आफूहरू आफ्नै शैलीमा राजनीतिक लडाइँ लड्ने बताए। राष्ट्रिय स्वाधीनताको रक्षा गर्न वामपन्थी र लोकतान्त्रिक शक्तिबीच सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो। त्यसका लागि साझा न्यूनतम कार्यक्रम तयार गरी संयुक्त आन्दोलन अघि बढाउनुपर्नेमा उनले जोड दिए।
संयोजक दाहालले तथाकथित ‘जेनजी आन्दोलन’ लाई प्रतिक्रान्तिको प्रयासको संज्ञा दिँदै त्यसको पूर्ण सफलता नभएको दाबी गरे। उनले वर्तमान चुनौती सामना गर्न लोकतान्त्रिक र वामपन्थी शक्तिहरूबीच थप एकता आवश्यक रहेको उल्लेख गरे। भारतमा निर्वाचित तिब्बती धार्मिक नेता दलाई लामाको जन्मोत्सव मनाइएको विषयलाई पनि उनले सामान्य घटनाका रूपमा लिन नहुने टिप्पणी गरे।
यसै क्रममा प्रचण्डले नयाँ पुस्तामा वैचारिक प्रशिक्षणको निरन्तरता कायम राख्न नसक्दा कम्युनिस्ट आन्दोलन कमजोर बनेको स्वीकार गरे। सरकार गठन र सत्ता समीकरणमा बढी केन्द्रित हुँदा वैचारिक पक्ष ओझेलमा परेको उनको भनाइ थियो। उनले आफ्नो पार्टीको प्राथमिकता सरकार बनाउने नभएको स्पष्ट पार्दै वर्तमान सरकार सञ्चालन गर्न कांग्रेस–एमालेलाई नै आग्रह गरे। बजेट निर्माणका क्रममा प्रदेश सरकारहरूमा कांग्रेस र एमालेबीच देखिएको विवादका कारण आफ्नो पार्टीमाथि राजनीतिक जिम्मेवारी थपिएको पनि उनले बताए।
