काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आफूलाई लक्षित गर्दै सामाजिक सञ्जालमा असम्बन्धित अश्लील भिडियो प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा आज एक पोष्ट साझा गर्दै शाहीले यस्तो गतिविधि आफ्नो चरित्रहत्या गर्ने नियतले गरिएको उल्लेख गरेका छन् ।
‘यदि संसारको कुनै पनि ठाउँको असम्बन्धित अश्लील भिडियो ल्याएर ‘यो तिम्रो हो’ भन्दै सामाजिक सञ्जालमा पोस्ट गरियो भने, त्यसपछि तिम्रो परिवारका सदस्यहरूले तिमीलाई कसरी हेर्थे रु’ शाहीले फेसबुकमा लेखेका छन् ।
उनले आफ्नो चरित्रहत्या गरेर प्रश्न सोध्नबाट नरोकिने र सत्यको पक्षमा लड्नबाट पछि नहट्ने पनि बताएका छन् । ‘चरित्रहत्या गरेर ज्ञानेन्द्र शाही प्रश्न सोध्नबाट रोकिन्छ वा सत्यको पक्षमा लड्नबाट पछि हट्छ भन्ने सोच राखेका छौ भने, त्यो तिमीहरूको भ्रम मात्र हो,’ उनले भनेका छन् ।
