काठमाडौँ । कानून, न्याय तथा मानव अधिकार समितिले बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकार, उचित खानपान र पोषणको अवस्था सुधार गर्न सरकारलाई भनेको छ। आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा ‘बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमिति’ को प्रतिवेदन, २०८३ माथि भएको छलफलका क्रममा सभापति समीक्षा बाँस्कोटाले यस्तो निर्देशन दिएकी हुन्।
सभापति बाँस्कोटाले सुधार गृहमा रहेका बालबालिकाहरूलाई कैदीबन्दी सरहकै खाना उपलब्ध गराउनु अनुपयुक्त भएको भन्दै उनीहरुको शारीरिक र मानसिक विकासका लागि छुट्टै पोषणयुक्त खानाको व्यवस्था गर्नुपर्ने बताइन्। विशेषगरी रूपन्देही लगायत क्षमताभन्दा बढी बालबालिका रहेका सुधार गृहको अनुगमन गरी ती समस्या समाधान गर्न उनले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गरिन्। बाल सुधार गृहमा रहेका बालबालिकाको पोषण, स्वास्थ्य, शिक्षा र पुनःस्थापनाको विषयलाई प्राथमिकतामा राख्नुपर्छ’, उनले भनिन्, ‘उनीहरूलाई कैदीबन्दी सरहको सामान्य खाना मात्र होइन, उमेर र शारीरिक/ मानसिक विकास अनुकूल पोषणयुक्त आहारको व्यवस्था गर्नु राज्यको दायित्व हो।
बालबालिकाको विकासको महत्वपूर्ण चरणमा सुधार गृहमा रहेका उनीहरूको अधिकार सुनिश्चित गर्न सरकार र सम्बन्धित निकाय गम्भीर हुन आवश्यक छ।’ समितिले आगामी दिनमा बाल सुधार गृह सम्बन्धी प्रतिवेदनलाई सदनमा पेश गर्ने र सरकारलाई जिम्मेवार बनाउन आवश्यक निर्देशनहरु जारी गर्ने निर्णय समेत गरेको छ।
