काठमाडौँ । सत्तारुढ रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले सञ्चारगृहमाथिको अवरोध र त्रासको प्रयास प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले राजधानीका एक अग्रणी सञ्चारमाध्यमको मुख्य प्रवेशद्वारमा गाडी पार्किङ गरी आवतजावत ठप्प पार्ने प्रयासको कडा शब्दमा भर्त्सना गरे ।
उनले सत्यसँग डराउनेहरूले मात्र यस्ता गतिविधि गर्ने भन्दै सत्यलाई ढाकछोप नगर्न चेतावनी दिए। उनले राजाको निरंकुश शासनकालमा नझुकेको सञ्चार क्षेत्र दुईचारवटा गाडी तेर्स्याएर नतर्सिने तर्क गरे। ‘हिजो निरंकुश शाही कालमा, तत्कालीन राजा ज्ञानेन्द्र शाहको सैनिक शासनमा बन्दुक बोकेका सेनाहरू समाचार कक्ष भित्रै पसेर समाचार सेन्सर गर्थे। त्यतिबेला नझुकेको नेपाली सञ्चाररमाध्यम, आज सडकमा दुई९चारवटा गाडी तेर्स्याएर तर्सिन्छ र ? ’, उनले प्रतिप्रश्न गरे।
परियारले नेपाली पत्रकारिताले विभिन्न राजनीतिक उतारचढाव र कठिन परिस्थितिको सामना गर्दै अहिलेको अवस्थामा आइपुगेकोस्मरण गराए ।उनले संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा गर्न सरकार गम्भीर हुनुपर्ने बताए। सोमबार बिहान कान्तिपुर मिडिया ग्रुप, अनलाइन खबर र हिमालयन टिभीको कार्यालयका प्रवेशद्वारमा सोमबार गाडी तेर्स्याएर अवरोध सिर्जना गरेका थिए ।
