काठमाण्डौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा आएर आफ्नो अभिव्यक्ति सच्चाउनुपर्ने माग गरेका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राईले ढुङ्गो बोल्ला तर प्रधानमन्त्री नबोलेको जिकिर गरे। प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेको यत्रो समय भयो।
तर ढुंगा बोल्ला, मान्छे बोल्दैन भने जस्तै भएको छ’, उनले भने,‘ प्रधानमन्त्रीले महानगरको मेयर हुँदा एउटा समस्या हुँदा फेसबुकमा लेखेर सिंहदरबार जलाइदिन्छु भन्नुभयो। पछि सिंहदरबार जल्यो। सीमा बारे पनि त्यस्तै हुने त होइन ? यस्तै, उनले सरकारले पठाओ राइडर, सुकुम्बासी, श्रमिक नागरिक तथा साना उद्यमीमाथि दबाब सिर्जना गरिरहेको बताए। गरिबमाथि सरकारले धारे हात लगाएर निमोठ्न सुरु गरेको आरोप लगाउँदै उनले यस्तो काम नगर्न आग्रह गरे।
यस्तै, उनले लामो समयदेखि न्यून सुविधामा काम गरिरहेका करार तथा ज्यालादारी कर्मचारीलाई ठेकेदारमार्फत व्यवस्थापन गर्ने प्रयास भइरहेको आरोप पनि लगाए।
