काठमाण्डौं । फिफा विश्वकप–२०२६ को फाइनल प्रवेशका लागि आज ( बुधबार ) राति अमेरिकास्थित डलासको मैदानमा दुई युरोपेली महारथी फ्रान्स र स्पेन आमने–सामने हुँदैछन् । स्पेन र फ्रान्स दुवै विश्वकपका पूर्वच्याम्पियन हुन् । यो रोमाञ्चक खेल नेपाली समयअनुसार, राति१२। ४५ बजे शुरू हुनेछ । एकतिर, लगातार तेस्रो पटक विश्वकपको फाइनलमा पुगेर उपाधिमाथि बलियो दाबेदारी प्रस्तुत गर्ने लक्ष्यमा रहेको साविकको उप–विजेता फ्रान्स छ ।
अर्कोतिर, सन् २०१० को विश्वकप विजेता स्पेन, जो लामो समयपछि फेरि एकपटक ऐतिहासिक सुनौलो ट्रफी उचाल्ने सपना बुन्दै मैदानमा ओर्लने छ । यो खेलको सबैभन्दा ठूलो चासो ‘विश्वकै सर्वाधिक खतरनाक खेलाडी’ मानिएका केलियन एमबाप्पेको स्वास्थ्यलाई लिएर छ । यद्यपि, मोरक्कोविरुद्धको क्वार्टरफाइनल खेलको ७७औं मिनेटमा घुँडाको चोटका कारण मैदानबाट बाहिरिएका एमबाप्पेले आफू पूर्ण रूपमा ठीक रहेको बताएका छन् ।
फ्रान्सका लागि अर्का खेलाडी मानु कोनेलगायत अन्य खेलाडीको ‘फिटनेस’ पनि सामान्य चिन्ताको विषय बनेको छ । प्रशिक्षक डिडियर डेसच्याम्पसले भने यी सबै खेलाडी स्पेनविरुद्धको सेमिफाइनलमा मैदानमा उपलब्ध हुने दाबी गरेका छन् । गम्भीर चोटका कारण पछिल्लो केही समयदेखि मैदान बाहिर रहेका आउरेलियन चुआमेनीको सहभागिता भने अझै अन्योलमै छ । अर्कोतिर, प्रशिक्षक लुइस डे ला फुएन्टको नेतृत्वमा रहेको स्पेन भने दुई प्रभावशाली फरवार्ड एरेमी पिनो र निको विलियम्सको फिर्तीसँगै थप बलियो देखिएको छ ।
खेल विश्लेषकहरूका अनुसार, फ्रान्स र स्पेनबीचको भिडन्त ‘शक्तिशाली आक्रमण’ र ‘अनुशासित रक्षापंक्ति’ बीचको संघर्ष हो । फ्रान्सले जारी विश्वकपमा हालसम्म १६ गोल गरिसकेको छ । फ्रान्सका लागि किलियन एमबाप्पेले आठ र उसमान डेम्बेलले पाँच गोल गरेका छन् । एमबाप्पे र डेम्बेलको जोडी निकै घातक पनि देखिएको छ । फ्रान्सेली टोलीको ‘काउन्टर अट्याक’ गर्ने क्षमता पनि विश्वकै उत्कृष्ट मानिन्छ ।
त्यसको ठीक विपरीत, स्पेनको वास्तविक शक्ति उसको बललाई नियन्त्रणमा राख्न सक्ने कला र बल ‘रिकभरी’मा देखिन्छ । मिडफिल्डका महारथी कप्तान रोड्री र पेड्रीको साथमा स्पेनले विपक्षीलाई बल पाउनै मुस्किल पार्ने रणनीति अपनाउँदै आएको छ । यसैगरी, जारी विश्वकपमा स्पेनले यो विश्वकपमा निकै थोरै गोल खाएको छ, जसले उसको बलियो रक्षापंक्तिलाई उजागर गर्छ । सन् २०२४ को युरो कप र सन् २०२५ को यूईएफए नेसन्स लिगको सेमिफाइनलमा स्पेनले फ्रान्सलाई हराएको इतिहास छ । नेसन्स लिगको रोमाञ्चक भिडन्तमा त ५–४ गोलको नतिजा निस्किएको थियो । त्यसैले, यो खेलमा पनि गोलको वर्षा हुने सम्भावनालाई नकार्न सकिँदैन ।
यी दुवै टोलीको खेललाई नजिकबाट नियालिरहेका केही विश्लेषकले सेमिफाइनल खेलमा फ्रान्सलाई केही हदसम्म बलियो दाबेदारका रूपमा उभ्याएका छन् । तर, फुटबलमा मैदानको ९० मिनेटको सँघर्षले नै नतिजा निर्धारण गर्छ भन्ने यथार्थ भुल्नु हुँदैन । समग्रमा, यो सेमिफाइनल खेल केवल एक सेमिफाइनल मात्र नभएर प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक भिडन्त हुनेछ । फ्रान्सको तीव्र गति र स्पेनको धैर्यपूर्ण रणनीतिकमध्ये कसले बाजी मार्ला रु त्यसको जवाफ बुधबार राति डलासको मैदानले नै दिनेछ ।
के स्पेनले आफ्नो पुरानो विरासत फर्काउला रु वा, फ्रान्सले आफ्नो दबदबा कायम राख्दै फाइनलको यात्रा तय गर्ला रु सारा विश्वको आँखा यतिबेला यही प्रश्नको जवाफको प्रतिक्षामा छ । यसपटक विश्वकपको सेमिफाइनलमा फिफा वरीयताका शीर्ष चार टोली फ्रान्स, स्पेन, इङ्ग्ल्यान्ड र अर्जेन्टिना पुग्नु आफैँमा एउटा संयोग र ऐतिहासिक क्षण पनि हो । यी चारवटै टोलीले विश्वकपको पूर्वविजेता पनि हुन् ।
