काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वालेन्द्र शाह ( बालेन ) नेतृत्वको सरकार अधिनायकवादी सत्ता चलाउने प्रयास गरिरहेको बताएका छन्। सोमबार कांग्रेस केन्द्रीय नीति प्रतिष्ठानले आयोजना गरेको छलफलका कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले सरकार नागरिकको मुख थुन्नतर्फ लागेको बताएका हुन्। ‘राज्य नागरिकको मुख थुनेर अधिनायकवादी सत्ता चलाउन लागेको छ,’ थापाले भने।
४४औँ बीपी स्मृति दिवसको तयारीका सन्दर्भमा आयोजित वृहत् बैठकलाई सम्बोधन गर्दै थापाले भने, ‘पार्टी नेताका घर, मिडियाका कार्यालय र व्यवसायीका व्यापारिक क्षेत्रमा गाडि तेर्स्याएर नागरिकको निजी सम्पत्ति, उसको आर्जन र जीवनमाथि क्षति पुर्याउने कुनै अधिकार राज्यले राख्दैन।’आफ्नो निवास अगाडि पनि गाडी तेर्स्याउन आएकाहरू सरकारी गाडीमा चढेर गएको स्थानीय बासिन्दाबाट जानकारी पाएको थापाले बताए। सोमबार थापाको निवास अगाडि पनि गाडी तेर्स्याइएको थियो।
कानुनले दिएको निकास नखोजेर सरकार आफैले समस्या सिर्जना गरिरहेको उनले बताए। ‘सरकार हरेक नागरिकको अभिभावक र संरक्षक बन्न सक्नु पर्नेमा मानव जीवनको रक्षाबाट विमुख र करुणाविहीन भएको छ,’ उनले भने। कांग्रेसको छलफलमा उपत्यकामा उपलब्ध पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्य, भ्रातृ संस्थाका अध्यक्ष, उपत्यकाका जिल्ला सभापति र प्रतिष्ठानका सदस्यको उपस्थिति थिए। थापाले लोकतान्त्रिक समाजमा नागरिकको प्रश्न गर्ने अधिकार कुनै पनि हालतमा खोस्न नसकिने स्पष्ट पार्दै नेपाली कांग्रेसले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकारको पक्षमा निरन्तर आवाज उठाइरहने बताए।
उनले विगतमा पनि आफ्नो घर रहेको गल्लीबाट प्रहरी, सेना र विभिन्न राज्य संयन्त्रका गतिविधि देखेको स्मरण गर्दै यस्ता दबाबपूर्ण शैलीले आफूहरू विचलित नहुने बताए। हाम्रो हक कसैले खोस्न सक्दैन, हाम्रो हिम्मत पनि कसैले खोस्न सक्दैन, उनले भने, प्रश्न गर्ने समाज निर्माण गर्नु हाम्रो सामूहिक जिम्मेवारी हो।थापाले नेपाली कांग्रेसको स्थापना नै निरंकुश शासनविरुद्ध नागरिकको बोल्ने र प्रश्न गर्ने अधिकारको रक्षा गर्न भएको स्मरण गर्दै अहिले पनि त्यही मूल्य र मान्यताका लागि पार्टी दृढतापूर्वक उभिएको बताए। उनले सरकारलाई लोकतान्त्रिक मूल्य, नागरिक स्वतन्त्रता र अभिव्यक्ति अधिकारको सम्मान गर्न आग्रह गरे। आज विभिन्न मिडिया हाउससँगै व्यक्तिका घर अगाडि बस पार्किङ गरी अवरोध गरिएको थियो ।
