काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ( नेकपा ) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकताका लागि सहकार्य गर्न ढिला गर्नु ठूलो गल्ती हुने बताएका छन् । नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले मिलेर मात्रै सफलता प्राप्त गर्न सकिने जिकिर गरे ।
उनले आजको भोलि नै पार्टी एकता गर्न लागेको नभए पनि कार्यगत एकताका लागि भने ढिला गर्न नहुने बताए । ‘हामीले ढिलो नगरी भन्न चाहन्छु, राष्ट्रिय स्वाधिनताका पक्षमा, निरंकुशताका विरुद्ध, वैदिशक दबाब र हस्तक्षेपका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्त एक हुनुपर्छ । यसलाई ढिला गर्न गल्ती हुन्छ,’ संयोजक प्रचण्डले भने । साथै, उनले विचार मिल्नेहरू एकता गर्न ढिला गर्दा ठूलो दुर्भाग्य हुनसक्ने बताए ।
‘केही साथीहरूले पार्टी एकता गरिहाल्ने भन्यो, बुझ्नै सकिएन भन्छन्, मलाई अनौठो लाग्छ । मैले आजै भोलि नै पार्टी एकता गरौं भनेको पनि छैन । मैले सहकार्य आजै सकिन्छ भने आजै गरौं, भरे सकिन्छ भने भरे नै र भोलि सकिन्छ भने भोलि नै गरौं भनेको हुँ,’ प्रचण्डले भने । सहकार्यका लागि ढिला गर्ने मनसाय राख्नु पनि दुर्भाग्यपूर्ण हुन्छ ।
’उनले वर्तमान सरकार संविधानका आधारभूत विषयमा प्रहार गर्नेतिर उद्धत रहेको आरोप लगाए । ‘सरकार संविधानका आधारभूत कुरामा प्रहार गर्ने, उत्पिडीत समुदायमाथि प्रहार गर्न उद्धत भएको देखिंदै गएको छ । यो सबैको तार्गेट मूल कुरा कम्युनिस्ट आन्दोलनलाई कसरी सकाउने ? भन्नेतिर छ,’ प्रचण्डले भने ।
