काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टी ( नेकपा ) का प्रमुख सचेतक युवराज दुलालले रास्वपा महाधिवेशनबाट पारित दस्ताबेजमा लोकतन्त्र हल्लाउने गन्ध आइरहेको बताएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले रास्वपाको पहिलो महाधिवेशनबाट पारित दस्ताबेजमा ‘लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध’ आइरहेको टिप्पणी गरे।
गणतन्त्रको संरचनालाई जिस्काई–जिस्काई कपट र षड्यन्त्र गरिरहेको आरोप लगाउँदै उनले भने, ‘लोकप्रियताको सुन्दर घुम्टोले केमोफाइज भएर जनमत जितेको शक्तिले हाम्रो गणतन्त्रको संरचनालाई जिस्काइ जिस्काई सेबेटोज गर्न बढ्दै गएको कपट र षडयन्त्रप्रति हामी गम्भीर र सचेत छौं’।
यस्तै, उनले नेकपा रास्वपाको प्रतिस्पर्धी शक्ति बन्ने दाबी गरे। यसपालिको निर्वाचनको हार सधैंका लागि नभएको बताउँदै उनले भने, ‘हामी आवधिक चुनावमा यो पटक तपाईंहरुसँग हारेका हौं, सधैंका लागि हारेका होइनौं । हामी पुनः प्रतिस्पर्धी शक्ति बनेर आउने छौं।’
