ललितपुर । वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको जात्राको अवसरमा भोटो देखाउने जात्रा आज अपराह्न ललितपुरमा सम्पन्न भएको छ। रातो मच्छिन्द्रनाथको रथ तानेर ललितपुरको थटिटोलबाट जावलाखेल पुगेको चौथो दिन आज भोटो देखाइएको हो। जावलाखेलमा आज विशेष समारोहका बीच भोटो देखाइएपछि रथजात्रा पनि औपचारिक रूपमा सम्पन्न भयो।
भोटो जात्रा समारोहमा राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक भई भोटो अवलोकन गरे। भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन शाह, उपप्रधान तथा गृहमन्त्री सुधन गुरूङ, ललितपुरका मेयर चिरीबाबु महर्जन, संवैधानिक निकायमा प्रमुख, सुरक्षा निकायका प्रमुखहरू जावलाखेल पुगेका थिए। भोटो जात्रा लिच्छवीकालदेखि मनाउने गरिएको विश्वास छ।
कपडाको थैलीमा सिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो। बाक्लो भीडका बीच गुठी संस्थानका प्रतिनिधिले भोटो देखाए। त्यस अवसरमा ललितपुरकी कुमारीबाट राष्ट्रपति पौडेल र अन्य विशिष्ट व्यक्तिहरूले टीका र प्रसाद ग्रहण गरे। भोटो देखाएसँगै उपत्यकाको सबभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथ यात्रा समापन भएको छ।
